
पोखरा स्पोर्टस । पिएम कप एनभिए भलिबल क्लब लिगमा बलियो मानिएको विभागिय टोली नेपाल पुलिस क्लब गण्डकी प्रदेश संग ३–० को सोझो सेटमा पराजित भएको छ ।

तीन पाकिस्तानी खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी प्रदेश, पुलिस कलब विरुद्ध सोझो सेटमा जित निकाल्न सफल रह्यो ।
शनिबार भएको खेलमा पहिलो र दोस्रो सेट समान २५–२२ र २५–२२ ले जित निकालेको गण्डकी प्रदेशले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
गण्डकी प्रदेशले तीन दिन सम्म सञ्चालन भएका आफ्ना तीनै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ ।
गण्डकीले आफ्नो चौथो खेल भोली मणीमुकुन्द भलिबल क्लब विरुद्ध खेल्नेछ ।
नेपाल भलिबल संघको आयोजनामा जारी यो प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगिताका विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिला तथा पुरूष दुवैतर्फ विजेता टोलीले नेपाललाई प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
