
पोखरा स्पोर्टस । नेपालमा पहिलोपटक ‘भलिवुड सिटी’ पोखरामा ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष क्लब लिग’ आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको एनभिए क्लब लिग यहि जेठ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्ड हलमा हुने भएको हो ।
यसअघि त्रिपुरेश्वरस्थित हलमा आठौं संस्करण सम्पन्न भइसकेको उक्त प्रतियोगिता यसपटक पहिलोपटक राजधानी बाहिर आयोजना हुन लागेको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
अध्यक्ष चन्दले भने, “पोखरा देशकै ठूलो शहर मात्रै होइन, कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्ण क्षमता बोकेको शहर हो। भलिवुड सिटीको रूपमा परिचित पोखरा भलिबलप्रेमीहरूका लागि प्रिय भूमि हो। यस प्रतियोगिता सफल बनाउन म सबैसँग आग्रह गर्दछु।”
अध्यक्ष चन्दले संघले अब एनभिए क्लब लिग मात्र नभई काभा च्याम्पियनसिप पनि पोखरामै आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै, त्यसका लागि धेरै दिन कुर्न नपर्ने बताए । यति ठूलो प्रतियोगिता पोखरामा आयोजना गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै, यहाँका विभिन्न सरोकारवाला निकायहरूले देखाएको सक्रियता र सहयोगप्रति आभार व्यक्त गरे ।
प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, हेल्प नेपाल स्पोर्टस क्लब र कोशी प्रदेश गरी कुल ८ टोली रहेका छन् भने महिलातर्फ नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब, र कर्णाली प्रदेश गरी ६ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका विजेता टिमहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ । दुबैतर्फका उपाधि बिजेताले जनही नगद रु ८/८ लाख, उपबिजेताले समान ४/४ लाख, तृतिय हुनेलाई समान नगद रु २/२ लाख, सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरुले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् ।
करिब पुरस्कार राशीमा ३२ लाख खर्च हुने प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने आयोजकले जनाएको छ । सम्पन्न पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष याम बहादुर गुरूङ, पूर्व सचिब डिबी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।
