
पोखरा स्पोर्टस । बुढानिलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा यही बैशाख २० गते हुने बुढानिलकण्ठ फाइट नाइटमा सुस्मिता थापा मगर भिड्ने भएकी छन् ।
गोल्फुटारको बास्केटबल ग्राउण्डमा हुन गइरहेको बुढानिलकण्ठ फाइट नाइट अन्तर्गत मुआथाई प्रोफेसनल फाइटको अन्तिम तयारीमा सुस्मिता जुटिरहेको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाएका छन् ।
सुस्मिताले यस अघि सम्पन्न तीन वटा फाइटमा जित हासिल गरिसकेकी छन् । गत साता सम्पन्न डब्लु विसी मुआथाई च्याम्पियनसिप समेत आफ्नो पोल्टमा पार्दै बेल्टसहित नगद ५० हजार जितेकी थिइन् ।
बैशाख २० गते हुने फाइटमा सुस्मिताले भारतिय सिनियर खेलाडी संग प्रतिस्पर्धा गर्ने भएको प्रशिक्षक क्षेत्रीले बताए । उनले भने–“सुस्मिताले यो चार महिना भित्र लगातार तीन वटा स्पर्धामा जित हासिल गरेकी छन् । यो उनको चौथो फाइट हो । उनले यो फाइटमा समेत जित हात पार्नेमा ढुक्क छु ।”
प्रतियोगितामा नेपाल, भारत र थाइल्याण्डका प्रोफेशनल युवा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । सुस्मिताले भारतिय प्रोफेसनल फाइटर गिता नारजिनेरी संग भिड्ने छन् । उनले पराजित गरेका सबै सिनियर फाइटर हरु हुन् । आइटिएफ तेक्वान्दोको खेलाडी समेत रहेकी उनले सिनियर फाइटमा जित हात पार्दा सेलीव्रेटीको रुपमा पहिचान बनाउन थालेको प्रशिक्षक क्षेत्रीले बताए ।
यस अन्तरगत मुख्य ईभेन्टमा नेपालका मिलन तामाङ र थाइल्याण्डका असादाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने २ वटा खेलमा नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिस्पर्धाका उत्कृष्ट तथा सबै सहभागी खेलाडीहरुलाई नगद पुरस्कारसहित प्रमाण पत्र समेत प्राप्त गर्नेछन् ।
