भूतपूर्व खेलाडी मञ्च आजबाट २५औं वर्षमा, महानगर संगको सहकार्य दिगो रहनेछ–मेयर आचार्य

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च आजबाट २५ वर्षमा प्रवेश गरेको छ । नेपाली राजनितिको अप्ठयारो परिस्थितीलाई छिचल्दै पोखरामा भेला भएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको भेलाले आजकै दिन सो संस्था गठन गरेका हुन् ।

खेलकुद विकास र सामाजिक विकासको अभियान बोकेको नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो स्थापना वर्षमा नै ‘पोखरा म्याराथन’ सुरूवात गरेको हो । जुन म्याराथन नेपाल कै जेठो र दक्षिण एसियाको दोस्रो म्याराथनको रुपमा दर्ज हुन सफल रहेको छ । पोखरा रंगशालाको पर्खाल निर्माण सम्पन्न गर्न र सोको लागी पोखरेली नागरिक समाजलाई एक जुट बनाउन संरक्षण अभियानमा समेत मञ्चको महत्वपूर्ण भूमिका रहेको थियो ।

मञ्चले आफ्नो स्थापनाको दिन वैशाख ८ गते पोखरामा एक कार्यक्रमको आयोजना गरी रजत वर्षभरी मनाउने विभिन्न कार्यक्रमहरु मिति सहित घोषणा गरेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन बाहेक केही महिना यता पोखरा महानगर पालिकाको “स्वच्छ पोखरा, स्वस्थ पोखरेली”को नारालाई आत्मसाथ गर्न सुरूवात गरिएको मासिक÷साप्ताहिक दौडलाई वर्षभर नै अघि बढाउने तथा सो दौडका लागि महानगर कै सहकार्यमा ३३ वटै वडामा रुट मापन समेत गर्ने घोषणा गरेको छ ।

रजत वर्ष महोत्सवको सुरूवात गर्न स्थापना दिवसकै दिन आयोजित एक कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले केक काट्दै मञ्चले पोखराको खेलकुदको क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । पोखरा अन्तर्राष्ट्रिय म्याराथनले एक उचाई प्राप्त गरेको बताउँदै नेपाल भूतपूर्व खेलाडी मञ्च संगको सहकार्यलाई अझै दिगो बनाएर अघि बढ्ने बताए ।

महानगर भित्र रहेका केही संस्थाहरुले महानगरको गौरव बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै त्यस मध्येको एक नेपाल भूतपूर्व खेलाडी मञ्च र सहारा क्लव रहेको मेयर आचार्यले उल्लेख गरे । उनले यी दुई संस्थाले गरेका कार्यक्रम पोखराको गौरव बढाउन समेत उत्तिकै योगदान रहेको जनाउँदै भने–“आफ्नो जिवनको अवकाशको समयमा घरमा नै बसेर रमाउने बेला समेत पूर्व खेलाडीहरुले खेलकुद र समाजको विकासका लागि जुन योगदान दिनु भएको छ । त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ ।”

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष एवं पोखरा अन्तर्राष्ट्रिय म्याराथनका सहयोगी गणेश बहादुर श्रेष्ठले भूतपूर्व खेलाडी मञ्च संग सहकार्य गर्न पाउनु आफ्नो संस्थाको लागि समेत उत्तिकै गौरवको विषय रहेको जनाउँदै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष खड्ग बहादुर रानभाट, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं मञ्चका सल्लाहकार गोकर्ण कार्की, नेपाल अ‍ेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवि आस्था, मञ्चका प्रथम उपाध्यक्ष खेम बहादुर गुरूङ, कोषाध्यक्ष हरि बरुवालले समेत आफ्ना भनाई राखेका थिए ।

सम्पन्न कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष एवं मासिक/साप्ताहिक दौडका परिकल्पनाकार तेज बहादुर गुरूङले पोखरालाई दौडै-दौडैको शहरको रुपमा स्थापित गर्न मासिक÷साप्ताहिक दौड अघि बढाएको बताए । उनले कठिन समयमा नेपाली खेलाडीहरुलाई एक जुट बनाउने अभियानले नै आजको यो बाटो तय भएको जनाउँदै अब मञ्चका गतिविधिले निरन्तरता पाउने उल्लेख गरे ।

पूर्व अध्यक्ष गुरूङले रजत महोत्सवका अवसरमा वर्ष भरी नै ८ देखि १२ र १३ देखि १६ वर्ष उमेर समुहको छात्र/छात्रा मासिक/साप्ताहिक दौडको निरन्तरता संगै १२ महिना १२ कार्यक्रमको घोषणा गरे ।

२०८२ बैशाख
क. दृष्टि विहिन छात्र/छात्रा दौडः २०८२ वैशाख २० गते, शनिबार
ख. विभिन्न वडाहरूमा ३ र ५ कि.मि. दौडको रुट मापन कार्य सुरु गर्ने । (वडा न. १ देखि १२ सम्म)

२०८२ ज्येष्ठ महिना
क. जन प्रतिनिधी दौड
ख. विभिन्न वडाहरूमा ३ र ५ कि.मि. दौडको लागिरुट मापन कार्य गर्ने । (वडा न. १३ देखि २५ सम्म)

२०८२ असार
क. सञ्चारकर्मी दौडः २०८२ अषाढ २१ गते शनिबार
ख. वक्तृत्व कला (मा.वि स्तरीय): २०८२ अषाढ ९ गते, सोमबार
२३ जुन (अन्तर्राष्ट्रिय ओलम्पिक दिवस)
ग. विभिन्न वडाहरुमा ३ र ५ कि.मि. दौडको लागि रुट मापन कार्य जारी राख्ने । (वडा नं. २६ देखि ३३)

२०८२ साउन
क. आमा समूह दौडः २०८२ श्रावण १७ गते, शनिबार

२०८२ भदौ
क. ६०+सुपर भेट्रान्स दौडः २०८२ भाद्र २१ गते शनिबार
ख. चित्रकला प्रतियोगिताः २०८२ भाद्र ७ गते शनिबार (स्पोर्टस एण्ड आर्ट)

२०८२ कार्तिक
क. कर्पोरेट दौडः २०८२ कार्तिक १५ गते, शनिबार ।
ख. संस्थाको साधारण सभा ।

२०८२ मंसिर
क. सवारी चालक दौडः २०८२ मंसिर २० गते, शनिबार ।
ख. पुनर्मिलन कार्यक्रमः २०८२ मंसिर २७ गते शनिबार ।

२०८२ पौष
क. परम्परागत छेलो प्रतियोगिताः २०८२ पौष २६ गते, शनिबार ।

२०८२ फागुन
२० औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौडःफागुन २ गते शनिवार ।

२०८३ वैशाख ८ गते
क. स्मारिका विमोचन
ख. राष्ट्रिय खेलकुद पुरस्कार वितरण
ग. रजत महोत्सव समापन समारोह

मञ्चमा हाल ३२४ आजिवन सदस्य रहेकोमा ३२ जना दिवंगत भइसकेको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close