
पोखरा स्पोर्टस । पोखरामा शहिद स्मारक लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेल हुँदैछ ।
शहिद स्मारक लिगको ६७ वर्ष लामो इतिहासमा ४४ औं ऋंखलामा मनाङ मर्स्याङदी (एमएमसी)ले नेपाल पुलिस क्लवको सामना गर्ने भएको हो । नेपाली फुटबलहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । होम एण्ड अवेको अवधारणामा शहिद स्मारक लिगलाई देशव्यापी बनाउन एन्फाले अभ्यासका रुपमा पहिलो पटक पोखरामा तिन खेलहरु आयोजना गर्दैछ । पोखरालाई एमएमसीले आफ्नो हामे ग्राउण्डका रुपमा छानेको छ ।

लिग अन्तर्गत भिड्न लागेका एमएमसी र पुलिसले शनिवारको खेल जित्ने दावी गरेका छन् । शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा पुलिसका प्रशिक्षक अनन्त तामाङले पोखरा बाहिर पहिलो पटक होम एण्ड अवेको अवधारणामा हुन लागेको मनाङ विरुद्धको खेल जित्ने बताए । उनले भने–“एमएमसीले पोखरालाई होम ग्राउण्डका रुपमा रोजेको छ तर पोखरा हाम्रो लागि उत्तिकै भाग्यशाली मैदान हो हामी जित्नका लागि पोखरा आएका छौं ।”
एमएमसी लिगको बलियो टिम रहेको र धेरै उत्कृष्ट राष्ट्रिय खेलाडी समेत रहेकाले आफू हरुले नयाँ रणनितिका साथ मैदान उत्रिने बताउँदै प्रशिक्षक तामाङले भने–“हामीले लिगमा अहिले सम्म चार वटा खेल खेलेका छौं, लिगका टप सिक्समा रहेका टिम संगका टिम संग दुई खेल वाहेक दुई खेलमा अंक बटुल्न सफल भएका छौं ।” उनले भोलीको खेल एटाकिङ गेम खेल्ने बताउँदै आफ्ना खेलाडी सुमन लामाले उत्कृष्ट प्रदर्शन गरेको समेत उल्लेख गरे । उनले एमएमसीले पोखरालाई होम ग्राउण्डको रोज्नु फुटबल विकासका लागि महत्वपूर्ण रहेको बताउँदै भने–“हामी विदेशमा खेल्न गइरहेका छैनौं हामी नेपालमा नै हाम्रो लागि पनि संधै होम ग्राउण्ड रहेको मैदानमा खेल्दैछौं ।”
पुलिसका कप्तान राम वाजीले समेत शनिवारको खेल आफूहरुले नै जित्ने दावी गर्दै नयाँ रणनितिका साथ खेलाडी मैदानमा उत्रिने बताए ।
यता एमएमसीका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो अपोनेन्ट टिम निकै बलियो रहेको बताउँदै भोली हुने खेल आफूहरुले जित्ने दावी गर्दै भने–“हामी मैदानमा शत प्रतिशत दिन्छौ, त्यसमा दर्शकहरुको पनि हाम्रो साथ रहनेछ ।” लिग अन्तर्गतका चार खेल मध्ये तिन वटामा जित दर्ता गर्दै एमएमसी आफ्नो होम ग्राउण्डमा पहिलो पटक मैदानमा उत्रिन लागेको बताउँदै प्रशिक्षक राजेन्द्रले आफूहरुले अपोनेन्ट टिमको रणनिती हेरेर मैदानमा तत्कालै आफ्नो रणनिती तय गर्ने बताए । उनले भने–“हाम्रो स्ट्राटिजी के हो भनेर अहिले नै नभनौ हामी पुलिसको खेल हेरेर तत्कालै रणनिती तय गर्नेछौं ।”
मोफसलमा हुने धेरै गोल्डकपमा पुलिस संग आमने सामने भए पनि लिग अन्तर्गत पहिलो पटक पोखरामा खेल्न पाउनु सुखद रहेको बताउँदै प्रशिक्षक राजेन्द्रले अहिले लिग अन्तर्गत रहेका १४ वटै टिमहरुको खेल उत्तिकै उत्कृष्ट रहेको बताए । तिन जना विदेशी खेलाडी सहित आफूहरु पुलिस विरुद्धको खेलमा उत्रिने बताउँदै उनले अवका तिन वटा म्याचहरु लगातार जित्ने रणनितीका साथ आफूहरु अघि बढेको उल्लेख गरे ।
