
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न कास्की जिल्ला अन्तर सामुदायिक विद्यालयस्तरीय छैटौं सृजना कप छात्र/छात्रा भलिबलमा शान्त माविले दोहोरो उपाधि हात पारेको छ ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा बिहिबार सम्पन्न फाइनलमा छात्रातर्फ शान्त माविले कन्या मावि र छात्रतर्फ कालिका माविलाई पराजित गर्दै दोहोरो उपाधि हात पारेको हो । शान्त माविले उपाधि संगै छात्रतर्फ ट्रफी, मेडल तथा प्रमाणपत्रका साथ नगद १ लाख तथा छात्रातर्फ नगद रु ७५ हजार प्राप्त गरेको छ ।

त्यसै गरी छात्रतर्फ उपबिजेता कालिका माविले नगद रु ६० हजार प्राप्त गर्दा तेस्रो स्थान हात पारेको राष्ट्रिय माविले नगद रु ३५ हजार प्राप्त गरेको छ । छात्रातर्फ उपबिजेता कन्या माविले नगद रु ५० हजार प्राप्त गरेको छ भने तेस्रो स्थान प्राप्त गरेको छोरेपाठन माविले नगद रु २५ हजार प्राप्त गरेको कास्की भलिबलका महासचिब टंकराज पौडेलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यस अघि छात्रतर्फको फाइनलमा शान्त माविले ३–१ को सेट जित निकाल्न सफल रह्यो । उसले २५–२२ ले पहिलो सेट हात पार्दा दोस्रो सेट २५–२१ ले गुमायो । तर पछिल्ला दुई सेट २५–२२ र २५–२३ ले जित्दै च्याम्पियन बन्यो । त्यस्तै तेस्रो स्थान हात पारेको राष्ट्रिय माविले विश्वशान्तीलाई २६–२८, २७–२५, २०–२५, २८–२६ र १५–७ ले जित्न सफल भयो ।
छात्रातर्फको फाइनलमा शान्त माविले कन्या माविलाई फाइनलमा २५–०७, २९–२७ र २५–२० ले जितेको छ ।
प्रतियोगितामा छात्रातर्फ शान्त माविकी पृथ्वी गाहा मगर सर्वोत्कृष्ट खेलाडी बन्न सफल हुँदा सोही विद्यालयका सुमन पोर्तेल सर्वोत्कृष्ट खेलाडी बने । उनीहरुले जनही नगद रु ५÷५ हजार प्राप्त गरे ।
त्यस्तै छात्रातर्फ उत्कृष्ट सेटरमा कन्या माविकी दृष्टि पुन, उत्कृष्ट सर्भरमा शान्त माविकी सृजना श्रेष्ठ, मिडल ब्लकरमा छोरेपाटन माविकी स्विकृती भण्डारी, उत्कृष्ट डिफेन्डरमा कन्या माविकी सिधा सेरपुन्जा, उत्कृष्ट स्पाइकर शान्त माविकी अपेक्षा विक, उत्कृष्ट प्रशिक्षकमा शान्त माविकै दिनेश चौधरी घोषित भए ।
यसै गरी छात्रतर्फ शान्त माविका समिर विक र साजन जैशी क्रमश उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डर बन्दा सोही विद्यालयका दिनेश चौधरी उत्कृष्ठ प्रशिक्षक बने । उनले दुबै विद्यालयलाई च्याम्पियन बनाउँदै दोहोरो उत्कृष्ट प्रशिक्षकको उपाधि हात पारे । यसै गरी कालिका माविका सोम बहादुर थापा, आशिष दर्जी र अमिर विक क्रमश उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट मिडल ब्लकरको पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट बनेका सबै खेलाडीहरुले एक–एक थान भलिबल हात पारे ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई पोखरा महानगर पालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल, सृजना विकास केन्द्रका अध्यक्ष विष्णु प्रसाद बराल, कास्की भलिबलका अध्यक्ष विष्णु बहादुर गुरूङले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
