यु–१६ टेनिसमा राजवीर र शिभाली च्याम्पियन

पोखरा स्पोर्टस । राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शनिबार पहिलो भएका छन् । राजवीर ब्वाइज तथा शिभाली गर्ल्समा पहिलो भए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरेका हुन् ।

गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ६–२, ६–७ र ७–६ ले हराइन् । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शिभालीले दोहोरो स्वर्ण जितिन् ।

शिभाली यु–१४ मा पनि पहिलो भइन् । यो स्पर्धाको फाइनलमा पनि शिभालीले स्वस्तिकालाई नै हराएकी थिइन् । यु–१४ ब्वाइज सिंगल्समा भने वृजेश शीर्ष स्थानमा रहे ।

होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यु–८ सिंगल्सको ब्वाइजमा कायान चालिसे र गल्र्समा अमाइरा गुप्ता पहिलो भए । दोहोरो स्वर्ण जितेका कायान यु–९ ब्वाइज सिंगल्समा पनि पहिलो भए । सो स्पर्धाको गल्र्समा निम्ति कुँवर पहिलो बनिन् ।

त्यस्तै यु–१० सिंगल्सको ब्वाइजमा सभ्यजंग कार्की र गर्ल्समा सारा पन्त तथा यु–१२ सिंगल्सको ब्वाइजमा विश्वविशेष डल्लाकोटी र गल्र्समा आयुशा जिसी च्याम्पियन बने ।

विजेतालाई पूर्व संघीय मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद् सुनिल केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक बागमती प्रदेश टेनिस संघका अध्यक्ष मनोज राणा, मुख्य प्रायोजक मिस्टिकका चेयरम्यान बालकृष्ण ध्वजुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

हरेक स्पर्धाको शीर्ष २ स्थानमा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । जम्मा १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । आठदिने प्रतियोगितामा १ सय २७ खेलाडीले सहभागिता जनाएको लनटेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close