पोखरा स्पोर्टस । कास्की एक दिवसीय क्रिकेटमा पोखरा क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले पराजित गर्दै उपाधि भिडन्तमा पोखराले आफूलाई सुरक्षित गरेको हो । सोमबार हुने फाइनलमा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लब संग भिड्ने छ ।
यस अघि अरण्ज्योतीले टस जितेर क्याटिङको निम्तो पाएको पोखराले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १५० रन जोड्यो । पोखराको पहिलो विकेट आउट हुनु अघि मुस्कान थापा र अर्जुन थापाको जोडीले अर्धशतकिय पार्टनरशिप खेले । पारीको सुरुवात गरेका मुस्कानले अरण्ज्योतीका बलर माथी धावा बोल्दै ११ बलको ४४ रन बनाए । उनले ५ छक्का र ३ चौका प्रहार गरे । उनी अब्दुल खलिक मियाँको बलमा प्रविन पौडेलारा क्याच आउट भए । उनी संगै पारीको सुरुवात गरेका अर्जुनले ३९ बलमा ४ चौकाको मद्धतमा २७ रन जोडे । सुभाष भण्डारीले १४, अनिष खड्काले १३ र बिजय रावतले व्यक्तिगत १० रन बनाए ।
अरण्यज्योतीका लागि अब्दुल खलिक मियाँले ६.५ ओभरमा ३० रन दिएर ३ विकेट लिए भने प्रविन पौडलले ७ ओभरको स्पेलमा २ मेडन राख्दै २७ रन दिएर २ विकेट हात पारे । त्यस्तै प्रदिप पौडेलले २ र सोम बहादुर थापा तथा कल्याण कुमालले समान १/१ विकेट लिए ।
यता १५१ रनको लक्ष्य पछ्याएको अरण्यज्योती ८० रनमा समेटियो । अरण्यज्योतीले आफ्नो पारीमा २१ रन अतिरिक्त पाएको थियो । अरण्यज्योतीका दुई खेलाडी सुलभ सुबेदीले १७ र प्रविन पौडेलले १३ रन बाहेक अन्य खेलाडीहरुले दोहोरो रन छुन सकेनन् । खेलमा कसिलो बलिङ गरेको सुभाष भण्डारी म्यान अफ दि म्याच बने । उनले ९.३ ओभरमा ३ मेडनका साथ ११ रन दिएर ३ विकेट लिए । देव शाहले ६ ओभरमा १ मेडनका साथ २२ रन दिएर ३ विकेट लिए भने बिजय रावत, अमन सुबेदी र सागर भुजेलले समान १/१ विकेट लिए ।
