राखेप र गण्डकी विश्वविद्यालय बिच तीन वर्षे सम्झौता, खेलकुद विकासमा कोशे ढुङ्गा–सदस्य सचिब घिसिङ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी विश्वविद्यालयका बिच तीन वर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पोखरामा आयोजित एक कार्यक्रमका बिच राखेपका सदस्य सचिब टंकलाल घिसिङ र गण्डकी विश्वविद्यालयका रजिस्टार डा.कैलाश तिमिल्सिनाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताको मुख्य उद्धेश्य खेलकुदलाई अध्ययन अध्यापनको मुख्य गोरेटोमा जोड्दै संगै अनुशन्धान र राष्ट्रको प्रतिष्ठा उठाउने गरी खेलकुदको मध्यमबाट गर्न सकिने कार्यमा दुई संस्थाहरुले आपसी सम्वन्धलाई बलियो बनाउने रहेको छ ।

सम्झौता पछि बोल्दै राखेप सदस्य सचिब घिसिङले नेपालमा स्पोर्टस युनिर्भसिटी आवश्यक रहेको जनाउँदै यो सम्झौताले नेपाली खेलकुदमा कोशे ढुङ्गा हुने बताए । नेपालमा स्पोर्टस युनिर्भसिटीको स्थापना गर्ने विषय प्राथमिकतामा रहे पनि कहिले बनाउने भन्ने विषय भने अझै अन्यौल नै रहेको उल्लेख गरे । उनले भने–“नेपाली विद्यालयहरुले खेलकुदको पाठ्यक्रमलाई महत्व नदिंदा हामी पछि परेका छौं । जवसम्म विद्यालयहरुमा पाठ्यक्रममा खेलकुदको विषय अघि बढदैन तव सम्म खेलकुद विकासले गति लिन सक्दैन ।”

स्पोर्टस साइन्सलाई महत्व नदिंदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपाली खेलकुद पछि परेको बताउँदै सदस्य सचिब घिसिङले दुई दशक देखि यो अभियानलाई सुरु गरिए पनि सार्थकता नपाएको बताए । संस्थागत रुपमा खेलकुदको विषय विद्यालयहरुमा पाठेयक्रम याथसिघ्र सुरु गर्नु पर्ने कुरामा जोड दिंदै उनले भने–“खेलकुदको जग बलियो बनाउन विद्यालयस्तरबाटै अध्ययन अध्यापन हुन आवश्यक छ । यसको अनिवार्यता नगरे सम्म स्पोर्टस विश्वविद्यालयको स्थापनाका लागि स्थापना मात्रै हुने छ ।”

स्पोर्टस साइन्स विषय खेलाडीका लागि उत्तिकै महत्वपूर्ण विषय रहेको बताउँदै राखेपले विश्वविद्यालयस्तरिय खेलकुद प्रतियोगिता समेत सुरु गरेको सदस्य सचिव घिसिङले बताए । विश्वविद्यालय अध्ययन मात्रै नभई खेलकुदका प्रतियोगिताले पनि उनीहरुको अन्तरनिहित क्षमता समेत् बढ्ने उल्लेख गरे ।

नेपालको एक मात्र स्नातक तहमा खेलकुद विषयको अध्ययन अध्यापन हुने विश्वविद्यालय गण्डकी विश्वविद्यालयले स्थापनाको चार वर्ष बाट प्रमुखताका साथ अघि बढाएको जनाउँदै विश्वविद्यालयका रजिस्टार डा. तिमिल्सिनाले यो सम्झौताले भने नयाँ अध्याय थपेको बताए । उनले भने–“हामी यो सम्झौताले उत्साहित छौं । यसले नेपाली खेलकुदको विकासमा नयाँ अध्याय थपेको छ ।”

एसियाका केही मुलुकहरुले स्पोर्टस यूनिभर्सिटी सञ्चालनमा ल्याएर मुलुकको समृद्धिमा इट्टा थप्ने काम भए पनि नेपालमा भने खेलकुदको विषय अझै आकषर्ण बन्न नसकेको उल्लेख गर्दै भने–“खेलकुदमा सफलता प्राप्त गर्ने खेलाडीहरुले अध्ययनलाई मुल विषय बनाएका छन् । तर हामीले त्यसो गर्न सकिरहेका छैनौं । हरेक विद्यालयमा खेलकुद पाठ्यक्रमको अनिवार्यता गर्दै घर–घरमा खेलकुद पुर्‍याउन आवश्यक छ ।”

चार वर्षे खेलकुद विषयको स्नातक तहको विषयमा यस वर्ष भने विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्नुले विश्वविद्यालयलाई भने आशा जगाएको बताउँदै उनले संघियता पश्चात प्रदेश सरकारले स्थापना गरेको नेपालकै पहिलो गण्डकी विश्वविद्यालयले नेपाली खेलकुदको विकासका लागि अनुशन्धानका विषयहरुमा अझै प्राथमिकता दिने बताए ।

सो अवसरमा विश्वविद्यालयका डिन डा कपिल अधिकारी, राखेपका सदस्य राजेश कुमार गुरुङ, स्पोर्टस म्यानेजमेन्ट कोर्डिनेटर डा.मधुसुदन सुवेदी, खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक कृष्ण तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close