मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीको अध्यक्षमा ‘गिरमान गुरुङ’, ‘माटो सुहाउँदो खेल निति बनाउँछौं’–अध्यक्ष आचार्य

पोखरा स्पोर्टस । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्टस एकेडेमीको ‘प्रथम अधिवेशन’ पोखरामा शुक्रबार सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले गिरमान गुरुङको अध्यक्षतामा ६५ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सुजन आचार्य, सचिवमा दिपक आचार्य, सहसचिवमा जिवन उचै र कोषाध्यक्षमा सूर्य मोहन शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दैै एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले खेलकुद विकासका लागि खेल निति आवश्यक रहेको बताएका छन् । नेपाली खेलकुदको विकासका लागि राजनिति आवश्यक रहेको औंल्याउँदै अध्यक्ष आचार्यले भने, “नेपाली खेलकुदको जगलाई बलियो बनाउन खेल निति आवश्यक छ । हामी नेपाली माटो सुहाँउँदो खेल निति बनाउछौं । जसले खेलकुदको दिर्घकालिन विकासमा नयाँ बाटो पहिल्याउने छ ।” उनले यसका लागि सातै प्रदेशमा वृहत छलफल चलाउने जानकारी दिंदै अग्रज खेलाडीहरु सहित विज्ञहरुको सुझाव समेत लिइने बताए ।

खेलकुदमा राजनिति भयो भनेर हल्ला चलाउँदा नेपाली खेलकुद पछि परेको औंल्याउँदै अध्यक्ष आचार्यले खेलकुदमा राजनितिक प्रभावबाट बाहिर राख्न खोज्दा नै जहिले पनि नेपाली खेलकुदले न्यून बजेटको मार खेप्दै आएको बताए । उनले भने–“जसले खेलकुदमा राजनिति गर्न हुन्न भन्छन् । त्यो गलत हो । स्वच्छ र बलियो राजनितिक प्रभावले नै नेपाली खेलकुद समष्टिगत रुपमा अघि बढ्न सक्छ । जसले खेलाडी, प्रशिक्षक र समग्र नेपाली खेलकुदको विकासका लागि नेतृत्व गर्दै स्वरोजगार संगै समृद्धिकोे बाटोमा अघि बढ्न सकोस ।”

नेपाली खेलकुदको विकासमा जननेता मदन भण्डारीले प्रतिपादित गरेको विचार महत्वपूर्ण रहेको जनाउँदै अध्यक्ष आचार्यले खेलकुद पूर्वाद्धार संग समेत जोडिएको र खेलाडी संगै प्रशिक्षकहरुले खेलकुदबाट नै जिवन जिउने माध्यम बनाउन कसरी सकिन्छ भन्ने बारे सबैको ध्यानजानु पर्ने औंल्याए । नेपाली राजनेताका नाउँमा हुने खेलकुद कार्यक्रमले मात्रै नभई समग्र मुलुकको विकासमा उत्कृष्ट प्रभाव परेको बताउँदै राजेनताहरुको विचारलाई भावी पुस्ताहरु माझ अघि बढाउन समेत उनीहरुको नाउँमा हुने गतिविधिहरु महत्वपूर्ण हुने उनको भनाई थियो ।

अध्यक्ष आचार्यले सातै प्रदेश र जिल्लाहरुमा संगठनको अघिवेशन सम्पन्न गर्ने गरी एकेडेमी अघि बढेको बताउँदै आगामी जनवरी १ तारिख राष्ट्रिय महाधिवेशन गर्ने गरी तयारी समेत भइरहेको जानकारी दिए ।

सो अवसरमा आफ्ना भनाई राख्दै एकेडेमीका केन्द्रिय सल्लाहकार एवं गण्डकी प्रदेशका पूर्व सांसद मोहन रेग्मीले जननेता मदन भण्डारीका विचारलाई खेलकुद क्षेत्रमा प्रभावकारी रुपमा अघि बढाउनु पर्ने जनाउँदै साझा नेतृत्व र रच्नात्मक कृयाशिलताले नै खेलकुद विकासमा महत्वपूर्ण हुने बताए । खेलकुदका विभिन्न आयामहरुलाई समेट्दै एक गतिशिल नेतृत्व नेपाली खेलकुदमा आवश्यक रहेको कुरा औंल्याउँदै ‘सबैका लागि खेलकुद’ संगै स्वरोजगारमा जोड्नु पर्ने विषयमा जोड दिए ।

कार्यक्रममा एकेडेमीका केन्द्रिय उपाध्यक्ष एवं राखेपका सदस्य राजेश कुमार गुरुङ, एकेडेमीका सचिव कृष्ण तिमिल्सिना, प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, सहारा क्लवका अध्यक्ष केशवराज बराललगायतले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close