यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन, ‘खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त छौं’

पोखरा स्पोर्टस । पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन गरिएको छ । पोखरा रङ्गशालामा एक भब्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेल र खेलाडीका विषयमा सकरात्मक रहेको बताए । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको बताएका हुन् । ‘प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडी बढिरहेका छौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘आगामी दिनमा पनि यही अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दर्छौं ।’

ओलम्पिकमा सहभागी खेलाडीहरुको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टू ओलम्पियन’ कार्यक्रम गरिरहेको उनले बताए । गण्डकीबाट ओलम्पिकमा सहभागी खेलाडीहरुलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिए ।

सो अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन् ।

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यू–१५ विद्यालय खेलकुदको थालनी गरिएकोमा यो मानक बन्ने बताए ।

‘नेपाली खेलकुदमा पहिलो पटक १५ वर्षमुनीमा विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ । आ–आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यहाँहरुको नाम इतिहासमा लेखिसकेको छ, सदस्य–सचिव घिसिङले भने, ‘हामीले खेलकुदको विकासको लागि ग्रासरुट अर्थात विद्यालय स्तरका प्रतियोगितालाई गर्ने भनेको दशकौँ भइसकेको छ । के हामीले यसको सधैँ परिभाषा मात्र गरिरहेका छौँ, यसलाई कार्यान्वयन गर्न आफैँले जवाफ खोज्ने बेला भएको छ । यसैको तयारी र कोसिस स्वरुप आज य–ू१५ राष्ट्रिय खेलकुदको थालनी भएको छ ।’

सदस्य–सचिव घिसिङले यू–१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको बताए । ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाढि बढाउँदै नयाँ प्रतिभाहरुलाई अवसर दिनुपर्छ । त्यसैले यो खेलको आफ्नै महत्व छ । यसको उदेश्य ठूलो छ ।’

सदस्य–सचिव घिसिङले नेपाली खेलकुदमा यू–१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने बताए । ‘विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थहीरुका लागि हामीले यस पटकदेखि विश्वविद्यालय खेलकुद आरम्भ गरौँ । राष्ट्रपति रनिङ शिल्ड पनि सञ्चालन भइरहेको छ । त्यसैको शृंखलाबद्ध प्रतियोगिता स्वरुप यू–१५ विद्यालयक खेलकुद सुरुआत गरेका छौँ । यसलाई पिरामिड शैलीमा गर्दै जानेछौँ ।’

यसलाई भविष्यमा अझ व्यापक रुपमा आयोजना गर्ने सदस्य सचिव घिसिङले बताए ।

‘विद्यालयबाटै भविष्यका स्टार जन्माउनुपर्छ । बालबालिकालाई खेलकुदको बारेमा बुझाउनुपर्छ भनेर हामी पहिलो पटक य–ू१५ विद्यालय खेलकुदको थालनी गरेका छौँ, सदस्य–सचिव घिसिङले भने, ‘यसलाई भविष्यमा निरन्तरता दिँदै अझै बृहत रुपमा आयोजना गर्दै जानेछौँ ।

कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यलगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सात प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा सात वटै प्रदेशका खेलाडी, प्रशिक्षक र म्यानेजर गरी ६ सय ३० जनाले भाग लिएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

उद्घाटनमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीहरुको मार्चपास, पञ्चेबाजा, ब्यान्डलगायत प्रस्तुती राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close