राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु, बुद्धिचाललाई व्यवसायिक रुपमा अगाडि बढाउन घिसिङ्गको जोड

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भईसकेकोले नेपालमा पनि यो खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन पर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

आज (सोमबार) बाट ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठान हलमा शुरु भएको छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै घिसिङ्गले नेपालमा बुद्धिचाल खेललाई व्यवसायिक विकासमा जोड दिनुपर्ने बताएका हुन् ।

‘विश्व फिडे महासंघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले बुद्धिचाललाई आफ्नो महत्वपूर्ण अफिसियल खेलको रुपमा मान्यता दिइसकेको छ, यस्तो अवस्थामा नेपालमा पनि बुद्धिचाल खेललाई व्यवसायिक ढाँचामा रुपान्तरित गर्न जरुरी भईसकेको छ, उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङ्गले भने, जसका लागि नेपाल बुद्धिचाल महासंघ, सम्बन्धित निकाय र व्यक्तिहरुले नेपालमा फुटबल र क्रिकेटमा जस्तो बुद्धिचालमा पनि व्यवसायिक लिग संचालनमा ल्याउन जरुरी छ ।’

यस्तै उनले प्रतियोगितालाई आयोजनामा मात्र सिमित गर्नु भन्दा पनि बढी भन्दा बढी खेलाडीलाई प्रतियोगितामा सहभागि गराउन र नेपालमा बुद्धिचाल खेल तथा खेलाडीको स्तर विकासको महत्वपूर्ण विषय रहेको बताएका छन् । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका घिसिङ्गले बुद्धिचाल खेलको विकासमा सक्रिय रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको नेपाल बुद्धिचाल महासंघलाई राखेपले सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।

आजबाट शुरु भएको प्रतियोगितामा रोखप सदस्यसचिव घिसिङ्गले सेतो तथा नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले कालो गोटी चाल्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजना आजदेखि शुरु भएको प्रतियोगिता पुष २८ गतेसम्म चल्ले छ ।

लिग कम नकआउट आधारमा शुरु भएको प्रतियोगिताका खेलहरु गत वर्षहरुमा भन्दा फरक शैलीमा खेलाइदै छ । यस पटकको प्रतियोगितामा प्रत्येक टिममा वैकल्पिकसहित ५ जना खेलाडीहरुको सहभागीता रहेको छ । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरि चार समूह वर्गीकरण गरिएको छ ।

जस अन्तर्गत समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहेका छन् । समूह बी मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सी मा अण्डर २० र मूह डी मा अण्डर १६ वा महिला खेलाडी रहेका छन् । वैकल्पिकमा जुन समुहको खेलाडी हो त्यही समूहबाट प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद, दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस, ललितपुर जिल्ला बुद्धिचाल संघ गरि २० टिम सहभागि छन् ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०९१० हजार पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ७० हजार रहेको छ ।

राखेपका सदस्यसचिव घिसिङ्गले उद्घाटन गरेको प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले स्वागत मन्तव्य प्रकट गर्नुको साथै कार्यवहाक अध्यक्ष हेराकाजी महर्जनले अध्यक्षता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close