
पोखरा स्पोर्टस । नेपाल बास्केटबल संघको पाँचौ चुनावी साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजु उपाध्यक्षमा चयन भएका छन भने नरेन्द्र थापा महासचिवमा, फनिन्द्रमान श्रेष्ठ सचिव तथा विष्णुहरि त्रिपाठी कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा पवनकुमार थापा, सरोजा कोइराला ‘श्रेष्ठ’, बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
