पोखरामा पर्यावरण जोगाउन मेयरहरु साइकलमा दौडे, साग पदक विजेता खेलाडीलाई सम्मान

पोखरा स्पोर्टस । नयाँ वर्ष २०७८ को अवसरमा पोखरा महानगरपालिकाले वातावरण तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य सहित पोखरामा मेयर साइकल दौड प्रतियोगिताको आयोजना गरेको छ ।

नयाँवर्ष कै दिनमा आयोजित उक्त प्रथम मेयर साईकल दौडमा वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँड च्याम्पियन बनेका छन् । पोखरा ६ हल्लन चोकबाट सुरु भएको ५ किलोमिटर साइकल दौड १५ मिनेट ३१ सेकेण्डमा पुरा गर्दै खाँड च्याम्पियन बनेका हुन् ।

प्रतियोगितामा कर्णाली प्रदेश हुम्ला जिल्ला नाम्खा गाँउपालिका प्रमुख विष्णुबहादुर लामाले १५ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै दोश्रो भएभने कास्की माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्ण बहादुर गुरुङले १६ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै तेश्रो भएका छन ।

उक्त दौड प्रतियोगिताबाट पहिलो, दोश्रो र तेश्रो बनेका मेयरहरुले क्रमश सम्मानपत्र, दोसल्ला सहित १०, ८ र ७ तोलाको चाँदीको आकर्षक पदक प्राप्त गरेका छन । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत महेश बराल लगायतले पुरस्कार वितरण गरे । विभिन्न जिल्लाका नगरपालिका र गाँउपालिकाका प्रमुख गरी कुल १४ जना प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसै विच साइक्लिङमा १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी खेलाडीलाई पोखरा महानगर पालिकाले सम्मान गरेको छ । मेयर साइकल दौड प्रतियोगिताको समापन कार्यक्रममा सागमा गण्डकी प्रदेशबाट सागकी रजत विजेता जमुना थापालाई नगद १ लाख नगद सहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो । साथै सागमा साईकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठा ,नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोही क्रममा पोखरेली अग्रज साईकिलिस्टहरु लोकबहादुर थापा, बसन्त सुवल, चिजबहादुर गुरुङ, इन्द्र नेपाली, खिमबहादुर थापा, भरतबहादुर कार्की, निरज थापा, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, मोहनसिंह लालचन, तुलसीकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
तस्विरः जिवन सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close