
पोखरा स्पोर्टस । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो ।
जवाफी व्याटिङमा २२ रनमा नै २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले सतकीय साझेदारी गरे पनि जितका लागि प्रयाप्त हुन सकेन । जोरा ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्की १३, सुमित महर्जनले १३, असिफ शेखले ४, पुरन विकले ४, अरुण ऐरी र अमर रौटेला शुन्य(शुन्य रनमा आउट भए ।
बलिङतर्फ मधेसका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन् । पवन सराफले ३३ रन रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाए।
बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।
मधेश प्रदेशले उपाधिका लागि विभागिय टोली नेपाल आर्मी संग भिड्ने छ ।
