
पोखरा स्पोर्टस । नेपाली एन्टि डोपिङ विज्ञ डा.सरोज कृष्ण श्रेष्ठको निधन भएको छ ।
उहाँको आज बिहिबार निधन भएको नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिनु भयो । नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको मेडिकल कमिसनका अध्यक्ष समेत रहेका ६९ वर्षिय श्रेष्ठको विएण्डवी अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।
ओम अस्पतालमा समेत कार्यरत डा. श्रेष्ठ बिहान आफ्नो निवास सातदोवाटो तल्छीखेलबाट कार्यालय जान कारमा सवार हुने वित्तिकै असहज महशुस गरे पछि विएण्डवी अस्पताल लगिएको महासचिव श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिनुभयो ।
डा.श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै एनओसी महासचिव श्रेष्ठले नेपाल खेलकुदले ठूलो क्षती व्यहोर्नु परेको बताउनु भयो । उहाँले भन्नुभयो–“उहाँ ओर्थोपेडिक चिकित्सक मात्रै होइन नेपाली खेलकुदमा उहाँको महत्वपूर्ण योगदान छ । हामी उहाँको योगदानलाई बिर्सन सक्दैनौ ।”
श्रीमती, एक छोरा र २ छोरी रहेका श्रेष्ठले हालै चिनको हाङझावमा सम्पन्न पारा एसियाली खेलकुदमा पारा एसियन एन्टी डोपिङ चिफको रुपमा कार्यरत रहेको एनओसी महासचिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यस अघि नेपालबाट तिनवटा ओलम्पिक गेम्स र करिव पाँच वटा एसियाली खेलकुदमा आफ्नो भूमिका निर्वाह गरिसक्नु भएको थियो ।
