
पोखरा स्पोर्टस । पोखरामा ११ औं लिटिल स्टेप यू–१२ ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । कोभिड महामारीका कारण तिन वर्ष देखि स्थगित प्रतियोगितालाई लिटिल स्टेप माविले पुनः निरन्तरता दिएको हो ।
दुई दिन सम्म विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गरेकी छन् । सो अवसरमा मन्त्री सिंखडाले लिटिल स्टेप माविको सिको सबै विद्यालयले गर्न सके खेलकुद विकासका लागि कोशे ढुङ्गा सावित हुने बताइन् । उनले भनिन–“विद्यालयले शिक्षा संगै खेलकुद विकासका लागि गरेको कार्य प्रशंसनिय छ । अरु विद्यालयहरुले पनि यसबाट सिक्न आवश्यक छ । यसले शिक्षा संगै खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास लिएकी छु ।”

आफूले केही सम्पती जोडेर शिक्षाको विकासमा योगदान दिएकोमा विद्यालय सञ्चालकहरु प्रति आभार व्यक्त गर्दै मन्त्री सिंखडाले उमेर समुहको खेलकुद प्रतियोगिताबाट नै भविष्यका लागि सक्षम खेलाडी उत्पादन हुने बताइन् । आफू विदेश गएर बस्नु भन्दा आफूले कमाएको केही अंश शिक्षाको विकासमा लगानी गर्नु महत्वपूर्ण विषय रहेको उल्लेख गर्दै उनले खेलकुद फगत मनोरञ्जनका लागि मात्रै नभई स्वास्थ्य लगायतका कारण उत्तिकै महत्वपूर्ण रहेको बताइन् । उनले भनिन–“विद्यालयले शिक्षाको विकासमा मात्रै नभई रोजगार समेत दिएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र स्वदेशमा नै बस्ने वातावरण बनाउनमा समेत विद्यालयले भूमिका खेलेको छ । यो निकै सह्रानिय कार्य हो । अर्को तर्फ खेलकुदको विकासमा समेत विद्यालयको योगदान उत्तिकै महत्वपूर्ण छ ।”
सो अवसरमा १९ औं एसियाली खेलकुदको तयारीमा रहेका महिला ह्याण्डबल खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री सिंखडाले नेपाली महिला ह्याण्डबल खेलाडीहरुले एसियाडमा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै शुभकामना समेत दिइन् ।
विद्यालयका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विद्यालयकी प्रधानध्यापक पम्फा गुरुङ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले विद्यालयले १२ वर्ष मुनीको ह्याण्डबल प्रतियोगिताको निरन्तरताले ह्याण्डबल खेलको जगलाई बलियो बनाउन भूमिका खेलेको बताए ।
नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १३ गरि २८ टिमको सहभागिता रहेको कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापाले जानकारी दिएका छन् ।

