
पोखरा स्पोर्टस । फुटबल खेलाडी अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि एक लाख आर्थिक सहयोग गरेको छ ।

पोखरेली फुटबल खेलाडी तथा बगर भाई खलक द्वारा सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणका प्रमुख प्रशिक्षक देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका हुन् । पोखरा महानगरपालिका १ निवासी देवकोटालाई आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो । सोही अवसरमा पोर्चुगल जान लागेका क्लबका सदस्य खगेन्द्र गुरुङ (कान्छा) लाई विदाई गरिएको थियो ।
देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए । ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि हामीले केही आर्थिक सहयोग गरेका हौं, अध्यक्ष गुरुङले भने, ‘यो सहयोग रकम यथेष्ट नभएपनि केही सघाउ पुग्नेछ ।’
सहयोग ग्रहणपश्चात बोल्दै देवकोटाले बगर भाइखलकप्रति आभार प्रकट गरे । ‘मेरो खुट्टाको उपचारका लागि भाइखलकका मामाहरुले सहयोग जुटाइदिनु भयो । त्यसको लागि बगर भाइखलकका सहयोगी मनहरुप्रति एकदमै आभारी छु ।’ उनले भने । उनले बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वहरुले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिदैं सफल अप्रेशनपछि फेरि खेलमा फर्किने बताए । ‘मेरो अप्रेशन सफल भइसकेपछि डाक्टरको सल्लाह सुझाव अनुसार म केही महिनाको बेडरेष्टमा हुनेछु, ‘पूर्ण रुपमा ठिक भएपछि फेरि मैदानमा फर्किनेछु ।’
देवकोटा विभिन्न प्रतिष्ठित क्लबहरुबाट फुटबल प्रतियोगिता खेल्दै आएका थिए ।
