
पोखरा स्पोर्टस । विश्वै सर्वाधिक उचाईमा रहेको मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा ‘दोश्रो एमेच्योर गल्फ प्रतियोगिता’ हुने भएको छ ।
समुन्द्र सतहबाट ४६४५ मिटरको उचाईमा अवस्थित लोवाथाङको मुस्ताङ गल्फ कोर्षमा यहि भदौ ३० गते प्रतियोगिता हुने भएको आयोजक गण्डकी प्रदेश गल्फ संघले जनाएको हो । लोमान्थाङ गाउँपलिकाको सहकार्यमा आयोजना हुने लागेको प्रतियोगिता बारे जानकारी गराउँदै गण्डकी प्रदेश सभाका पूर्व सांसद तथा प्रदेश गल्फ संघ तदर्थ समितिका संयोजक इन्द्र धारा विष्टले खेलकुद मार्फत विश्वकै ध्यान आकृष्ट गर्न प्रतियोगिताको आयोजना गरेको बताए ।

“हामी लोवान्थाङलाई विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्षको रुपमा विकास मात्रै गरेका छैनौं”, संयोजक विष्टले भने–“हामी लोवाथाङको मुस्ताङ गल्फ कोर्षलाई गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा दर्ज समेत गराउँदै छौं ।” अहिले सम्म भारतको सिक्किममा ३९७० मिटरको उच्च स्थानमा रहेको रेकर्ड मुस्ताङ लोवाथाङ गल्फ कोर्षले किर्तिमान तोड्ने बताउँदै उनले विश्वका गल्फरहरुलाई एक पटक यहाँ आउने र त्यसले समग्र पर्यटन क्षेत्रको ढोका खुल्ने उनको भनाई थियो । गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा दर्ज गराउने कार्य करिव ७५ प्रतिशत सकिएको उनले जानकारी दिए ।
“हामीले प्रतियोगिताका लागि प्रतियोगिता आयोजना गरेका होइनौ । लोवान्थाङ गल्फ कोर्षलाई विश्वमा चिनाउने र उनीहरुको ध्यानकृष्ट गराउने हाम्रो योजना हो । जसका कारण अन्तर्राष्ट्रियस्तरका गल्फलरको ध्यान खिच्न सफल भयौं भने यसले पर्यटन उद्योगमा नयाँ आयाम थप्ने छ”,-उनले भने । पहिलो संस्करणको प्रतियोगिताले नै धेरै छनक देखाएको बताउँदै अव अर्को वर्ष हुने तेश्रो सस्करणमा धेरै भन्दा धेरै विदेशी खेलाडीहरु समेत नेपाल आउने उनको भनाई थियो ।
प्रतियोगिता आयोजना लागि लोमान्थाङ गाउँ पालिका बाहेक अन्य केही सहयोगीहरु रहेको जानकारी दिंदै उनले संघिय र प्रदेश सरकारको कुनै आर्थिक सहयोग नरहेको उनले स्पष्ट पारे । प्रतियोगितालाई प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटि एक्सप्रेस मनी चेन्जर, जर्मन बेकरी पोखरा, सोल्टी मिनरल वाटर, चिम्ले अर्चेट प्राली लगायतले सहयोग गरेका छन् ।
प्रतियोगितामा काठमाण्डौ, धरान, बुटवल र पोखराका गरि ४० जना गल्फरहरुको सहभागिता हुने छ । जसमध्ये ४ महिला खेलाडीहरुले सहभागिता जनाउने छन् ।
करिव ४ किमि क्षेत्रफलमा फैलिएको मुस्ताङ लोवान्थाङ गल्फ कोर्षमा हुने प्रतियोगिता ९ होल ह्याण्डिक्याप स्टेबल फोर्ड ढाँचामा खेलाइने संयोजक विष्टले बताए । प्रतियोगितामा होल इन वनको विजेतालाई घोडा वा सो बरावरको १ लाख नगद प्रदान गरिने छ । त्यसै गरि विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिताको तयारी बारे प्राविधिक भुवनसिंह गुरुङले समेत जानकारी दिएका थिए ।
