
पोखर स्पोर्टस । सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ को आय व्यय सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौ स्थापना दिवसमा आयोजित एक कार्यक्रमका विच आय व्यय सार्वजनिक गरेको हो ।
अर्वाड कार्यक्रमको लागि २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च गरेर १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको मञ्चले जनाएको छ । कोषाध्यक्ष कविता घर्ती मगरले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको थियो ।
मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको छ । अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा सहभागीले जोड दिएका छन् ।
मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, कास्कीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मञ्चको स्थापना दिवस र सातौं पोखरा स्पोर्ट्स अवार्डका सम्बन्धमा बोलेका थिए ।
सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत बैशाख २३ गते आयोजना भएको थियो । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेकी थिइन ।
अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारेंका थिए । लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रम सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगर पालिकाको विषेश सहयोग गरेका थिए ।
