
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद विकास समितिहरुलाई पत्राचार गरी नियमन र अनुगमन गर्ने कार्यलाई तिव्रता दिएको छ ।
परिषदले गत जेठ १९ गते नै जिल्ला खेलकुदहरुलाई पत्राचार गरी नियमन र अनुगमन गर्ने कार्यलाई तिव्रता दिएको हो ।
प्रदेश भरका प्रशिक्षकहरुको योग्यता संगै खेलस्थलहरुमा भइरहेको प्रशिक्षण स्थलहरुको अनुमती तथा सो को जानकारी यथासिघ्र पठाउन जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरेको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । उनले भने–“यो विषयमा प्रदेश खेलकुद गम्भिर छ । हामीले नियमन र अनुगमनलाई तिव्रता संगै प्रशिक्षकहरुको योग्यता, आधिकारिकता तथा प्रशिक्षणस्थलहरुको जानकारी दिन जिल्ला खेलकुदहरुलाई पत्राचार नै गरिसकेका थियौं ।”
परिषदले विभिन्न ६ वटा विषयमा यथासिघ्र जानकारी दिन पत्राचार गरेको बताउँदै सदस्य सचिव शर्माले जिल्लामा रहेका खेल संघहरुको वार्षिक साधारण सभा, लेखा परिक्षण, जिल्ला खेलकुदहरु समितिको बैठक, जिल्लामा दर्ता नभएका खेल संघहरुलाई यथासिघ्र प्रदेश खेलकुद विकास ऐन अनुसार दर्ता गरी तदर्थ समिति गठन गर्न समेत परिषदले जिल्ला खेलकुदहरुलाई निर्देशन दिएको छ ।
कास्कीमा अख्तियार दुरपयोग अनुशन्धान आयोगले खेलकूद संघहरुले खेलाडीहरु संग प्रशिक्षणको नाममा रकम लिएकोमा अनुशन्धान अघि बढाए पछि प्रदेश खेलकुद झनै सक्रिय बनेको छ । दुई दर्जन खेल संघहरुलाई कास्की जिल्ला खेलकुदहरुलाई यर्थाथ विवरण पेश गर्न पत्राचार नै गरिसकेको छ ।
खेल संघहरुमा सुसासनको विषयमा परिषद झनै गम्भिर रहेको बताउँदै सदस्य सचिव शर्माले यसका लागि खेल संघहरुले आफ्ना आर्थिक विषयहरु पारदर्शी बनाउनु पर्ने कुरामा जोड दिए । “प्रशिक्षणको नाममा रकम उठाएको विषयमा जे जती कुरा उठिरहेका छन् हाम्रो यसमा ध्यनाकृष्ट भएको छ । हामी नियमन र अनुगमनको पाटोलाई अझै बलियो बनाउँछौं । त्यसैको स्वरुप हामीले गत जेठमा नै जिल्ला खेलकुदहरुलाई पत्रचार गरेका थियौं ।”
