
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारबाट पोखरामा सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालास्ति बहुउद्धेश्यिय कभर्डहलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन सेमीफाइनलमा पुग्ने ४ टिमको टुङ्गो लागेको छ ।

लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगिताबाट स्याङजा, कास्की, बागलुङ र मुस्ताङ सेमीफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा स्याङजाले नवलपुरलाई १९–०७ र मुस्ताङलाई १५–१० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै कास्कीले बागलुङलाई २५–१६ ले पराजित गरेको छ भने मुस्ताङले आफ्नो पहिलो जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । मुस्ताङले नवलपुरलाई ४ का विरुद्ध १४ गोलले पराजित गरेको हो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय प्रतियोगिताको तयारीका लागि यस प्रकारको प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनले जिल्ला जिल्लामा छरिएर रहेका खेलाडीहरुको पहिचान गरी आगामी दिन १० औं राष्ट्रिय खेलकुदको तयारी गर्ने गरी प्रशिक्षण लगायतका कार्यक्रमहरु समेत सुरुवात गर्ने बताए ।
कास्की जिल्ला ह्याण्डबल संघका कार्यवाहक अध्यक्ष चित्र थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताकी संयोजक पुष्पा श्रेष्ठ, सचिव टेक बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल ह्याण्डबल संघका केन्द्रिय सचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी तथा केन्द्रिय सदस्य राम गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।
सेमीफाइनल र फाइनल खेल शनिबार सञ्चालन हुनेछ । प्रतियोगितामा उपाधि विजेता टोलीले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ५ हजारका साथमा ट्रफीका साथमा प्रमाणपत्र वितरण गरिने छ ।
