
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय (आइटिएफ) तेक्वान्दो प्रतियोगिता असार २ र ३ गते पोखरामा हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा ७ जिल्लाका ३ सय भन्दा वढि खेलाडीहरुको सहभागिता रहने अध्यक्ष घम बहादुर थापाले जानकारी दिएका छन् ।
प्रतियोगितमा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता हुने छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा हुने अध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ । त्यसै गरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीहरु समेत हुने आयोजकले जनाएको छ भने राष्ट्रिय खेलकुदमा प्रतियोगितामा बिजेता खेलाडीहरुलाई सम्मान समेत गरिने भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितालाई सफल बनाउन एकदिने अम्पाएर सेमीनार सम्पन्न गरिएको छ जसमा ३० जना अम्पाएरले प्रतियोगिता सञ्चालन गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न संघका अध्यक्ष थापाको अध्यक्षतामा एक आयोजक कमिटि गठन गरिएको छ । जसमा रेफ्रि अफिसियल संयोजकमा आकाशचन्द्र घर्ती मगर, आर्थिकमा प्रतिक घर्ती मगर, हल तथा स्टेजतर्फ सुरज सुनार, होटल व्यवस्थापनमा विशाल बुढा मगर, स्टेजतर्फ बिक्कि सुनार, मिडिया संयोजकमा कविता घर्ती मगर, अतिथी सत्कारमा हेविन्द्र खडका र खेलकुद प्रदर्शनमा फारम महत रहेका छन् ।
प्रतियोगिताको उद्घाटन शनिबार संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्वुले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
