
पोखरा स्पोर्टस । आसन्न १९ औं एसियाली खेलकुदका लागि ट्रायथलन खेलबाट ४ जना खेलाडी छनोट भएका छन् ।
नेपाल ट्रायथलन संघले २ पुरुष र २ महिला गरी ४ खेलाडी छनोट गरिएको जनाएको हो । संघका केन्द्रिय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ७ पुरुष र ४ महिला खेलाडी मध्येबाट २ पुरुष र २ महिला खेलाडी छनोट गरिएको पोखरा स्पोर्टसलाई बताए ।
छनोट भएका खेलाडीहरुमा पुरुषतर्फ बसन्त थारु (नेपाल आर्मी) र मौलिक महर्जन तथा महिलाबाट श्रेवी महर्जन र यूस्का महर्जन रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । छनोट भएका मध्ये बसन्त साग पदकधारी खेलाडी हुन् भने मौलिक र श्रेवी नवौं राष्ट्रियका पदक विजेता खेलाडी हुन् ।
चिनको होङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपाली ट्रायथलन टोलीले मिक्स टिम इभेन्टमा सहभागिता जनाउने छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एसियाली खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु हुने दिन असार १ गतेबाट सबै खेलका खेलाडीहरुलाई अन्तिम बन्द प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ ।
१०० दिनको काउन्ट डाउनको अवसरमा नेपाल ओलम्पिक कमिटिले समेत असार १ गते एक कार्यक्रम आयोजनाको तयारी गरिरहेको छ ।
