गण्डकी प्रदेशस्तरीय पारा खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार भएको पारा खेलकुद प्रतियोगिता २०७९ पोखरा रंगशालामा सम्पन्न भएको हो । पारा खेलकुद अन्तर्गत अपाङ्गताका विभिन्न विद्यामा प्रतियोगिताहरु आयोजना गरिएको परिषदले जनाएको छ । पारा खेलकुद अन्तर्गत सम्पन्न ह्विल चियर बास्केटबलमा पोखरा महानगरले पोखरा १५ स्थित हरियो खर्क अस्पताललाई १५–१४ को स्कोरले पराजित गर्दै उपाधि जितेको छ । त्यसै गरी उक्त प्रतियोगितामा मिक्स टिम तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

यसै गरी मनोसामाजिक ५० मिटर दौडमा बाटुली थापा प्रथम, समिक्षा बुढा द्वितिय र सोनु गुरुङ तृतिय भएका छन् भने बौद्धिक अपाङ्गतातर्फको ५० मिटर दौडमा दिप्सन पुन पहिलो, आर्यन दवाडी दोश्रो, प्रिन्स गुरुङ तेश्रो र विधान सिग्देल चौथो भए । बौद्धिक अपाङ्गता ८–११ वर्ष उमेर समुहमा गुराँस रम्तेल पहिलो हुँदा ऋतु गुरुङ दोश्रो, सुहानी बराल तेश्रो भएका छन् । सोही इभेन्टको पुरुष १२ देखि १५ वर्ष उमेर समुहमा अश्विन परियार पहिलो हुँदा राजु केसी दोश्रो र शिशिर पौडेल तेश्रो भएका छन् । त्यस्तै महिलातर्फ दिपशिखा श्रेष्ठ पहिलो, अनिशा कुमाल दोश्रो र युमी गुरुङ तेश्रो भएका छन् ।

अटिजमतर्फ १०० मिटर दौड ग्रुप १ मा शुभान गुरुङ पहिलो, रेगन गुरुङ दोश्रो र पुनम पालिखे तेश्रो भए भने ग्रुप २ तर्फ क्रिशल क्षेत्री पहिलो, जोसेफ गुरुङ दोश्रो र रिजन आचार्य तेश्रो भएका छन् । अटिजमतर्फको तेश्रो ग्रुपमा आरोही गुरुङ पहिलो, प्रियस भण्डारी दोश्रो र आरभ वाग्ले तेश्रो हुन सफल भए । यता सफ्टबल तर्फको फाइनल खेलमा रेगन गुरुङ, शास्वत ढकाल र संजिव कुंवर क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक खगराज अधिकारीले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै सरकार विशेष वर्गको सबै क्षेत्रमा सहभागिता र पहुँचका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताए । उनले यस प्रकारका प्रतियोगिताले सबैलाई उत्साह दिने मात्रै नभई पारा खेलकुदको जग अझै जनमानसमा पुर्‍याउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको कुरा औल्याए ।

समापन कार्यक्रममा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खुमराज सुवेदीले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेल, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, सदस्य गिरमान गुरुङ, शुभकन्या गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाललगायतको सहभागिता रहेको थियो । 

कार्यक्रम प्रदेश खेलकुदका सदस्य एवं पारा खेलकुदका संयोजक अमृत बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रदेश खेलकुद गठन पश्चात दोश्रो पटक यो कार्यक्रम आयोजना भएको हो । प्रतियोगितामा पारा खेलकुदका विभिन्न विद्यामा १ सय भन्दा खेलाडीको सहभागिता संगै उल्लेखनिय रुपमा अभिभावकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close