मुख्यमन्त्री कप भलिबलको उपाधि बागलुङ र म्याग्दी लाई

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको स्थापना अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि बागलुङ र म्याग्दीले जितेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा स्याङजा वालिङस्थित पूर्णामित भलिबल खेल मैदानमा सम्पन्न फाइनलमा पूरुषतर्फ बागलुङ र महिलातर्फ म्याग्दीले उपाधि जितेका हुन् । दुबैतर्फको उपविजेता भने पर्वत भएको छ । पुरुषतर्फको फाइनल खेलमा बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट २५–१९ ले जितेको बागलुङले दोश्रो सेट भने २७–२९ ले पर्वतलाई सुम्पिन पुग्यो । तेश्रो र चौथो सेट लगातार २५–२२ र २८–२६ ले जित्दै उपाधि जित्यो ।

यसै गरी पुरुषतर्फ नवलपुरले तनहुँलाई पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । नवलपुरले तनहुँ विरुद्ध २५–२०, २५–१४ र २५–१४ ले जित्दै तेश्रो स्थान हात पारेको हो ।

यता महिला तर्फ म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा जित्दै उपाधि हात पार्न सफल भयो । म्याग्दीले २५–१८, २५–१४ र २५–१६ ले पराजित गरेको हो । त्यस्तै प्रतियोगितामा स्याङजाले तनहुँलाई ३–० ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा उपाधि विजेता प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने महिला तथा पुरुष टिमले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिता पुरुषतर्फ उत्कृष्ट खेलाडी बागलुङका रबी केसी भएका छन् भने उत्कृष्ट स्पाइकर विष्णु क्षेत्री पर्वत, उत्कृष्ट ब्लकर हिमाल सुनारी नवलपुर, उत्कृष्ट सेटर मिन सुनार बागलुङ, उत्कृष्ट डिफेण्डर सौगत जिसी पर्वत, उत्कृष्ट सर्भर घनश्याम चौधरी नवलपुर र उत्कृष्ट प्रशिक्षक कृष्ण शेरचन बागलुङ घोषित भएका छन् ।

महिलातर्फ उत्कृष्ट खेलाडीमा अरुणा शाही घोषित भइन् । उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकमा क्रमश रिमा कुंवर पर्वत, मनिषा तिलिजा पुन म्याग्दी, रेविना घर्ती मगर म्याग्दी, जयारा निषा स्याङजा, सोइङ थापा स्याङजा र मलिन रोका म्याग्दी घोषित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close