
पोखरा स्पोर्टस ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हकीको फाईनलमा नेपाल आर्मी र पुलिस विच भिडन्त हुने पक्का भएको छ ।
हेम्जाको गौरीशंकर खेल मैदानमा जारी खेलमा आज आर्मीले कर्णालीलाई र पुलिसले गण्डकीलाई पराजित गरी दुवै टिमविच विहीबार हुने फाईनलमा भेट पक्का गरेका हुन् ।
बुधबार भएको पहिलो सेमीफाइनल खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । टिमलाई विजयी बनाउनका लागि नेपाल आर्मीका देवसिं धामी एक्लैले ४ गोल गरेका थिए । उनले खेलको ४ औं, १५औं, २२ औं र २९ औं मिनेटमा गोल गरेका हुन् । खेलको ५ औं मिन्टमा रोमन रानाले गोल गरे ।
त्यसैगरि आर्मीका लागि ९ औं मिनेटमा राजेन्द्र कार्कीले गोल गरे । १३ औं र २१ औं मिनेटमा दिपेन्द्र ऐरले गोल गरेका थिए भने खेलको २३ औं र ३६ औं मिनेटमा प्रदिप राजवंशीले गोल गरेका थिए । ४० औं र ४४ औं मिनेटमा गणेश टमटाले गोल गरेका थिए भने ४८ औं मिनेटमा मिन बहादुर थानेतले गोल गरे ।
त्यसैगरि दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिससंग ४–० गोल अन्तरले पराजित भएको छ । पुलिसका श्रवण कुमारले खेलको १३ औं र २५ औं मिनेटमा गोल गरेका थिए भने १७ औं र १९ औं मिनेटमा महेश धामीले गोल गरे ।
विहीबार कास्य पदकका लागि गण्डकी र कर्णाली प्रदेशविच प्रतिस्पर्धा हुने छ । सोमबार समुह लिग चरणको खेलमा गण्डकीले मधेश प्रदेशलाई पराजित गरेको थियो भने अन्तिम चारमा मंगलबार कर्णालीले बागमती प्रदेशलाई पराजित गरेको थियो ।
कुल ९ टिम सहभागी प्रतियोगितामा समूह क बाट प्रदेश १, सुदुरपश्चिम, मधेश, समुह ख बाट बागमती र लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको हो ।
