
पोखरा स्पोर्टस । नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)मा नविन पाण्डेको नियुक्तिको विषयमा विरोध सुरु भएको छ ।
एन्फाको केन्द्रिय निर्वाचन सकिए लगतै अध्यक्ष पकञ्ज विक्रम नेम्वाङले पहिलो बैठकबाट निर्णय गरी नियुक्ति पाएका नविन विरुद्ध बहुमत सदस्यहरुले नियुक्ती खारेजको माग गर्दै निवेदन दर्ता गराएका हुन् । नविनलाई विदेश विभाग प्रमुखमा गत जेठ ८ गतेको निर्णयले नियुक्ति दिएको थियो । उक्त बैठक नियम पुरा नगरी बोलाइएको र एन्फाको विधानको धारा २४ को ३ (क) लाई उल्लंघन गरी जर्मन नागरिकलाई नियक्ति दिनु त्रुटीपूर्ण रहेको भन्दै औंल्याएका छन् ।
नविन गैर नेपाली नागरिक भएकोले उनको नियुक्ति प्रचलित ऐन कानुन विपरित रहेको अध्यक्ष नेम्वाङलाई एन्फाका १३ वहुमत सदस्यहरुले हस्तक्षर गरेको पत्रमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ–“उनको नियुक्ति एन्फाको विधानको धारा ३८ (६) बमोजिम गरिएको र एन्फाको सम्पूर्ण इमेलहरु समेत पढ्न पासवर्ड समेत उपलव्ध गराईएको हुँदा यस्ता गतिविधिले एन्फाको गोपनियता, राष्ट्रिय अस्तित्व तथा सार्वभौमकितामा समेत आँच आउने भएकोले यस्ता विषयमा गम्भिर हुन र उनको नियुक्ति सोही धारा बमोजिम नै खारेज गर्न माग गर्दछौ ।”
उक्त पत्रमा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, उपाध्यक्षहरु विराटजंग शाही, दिपक बहादुर केसीसहित ९ जना केन्द्रिय सदस्यहरुले हस्ताक्षर गरेका छन् ।
