गण्डकी प्रदेशस्तरिय महिला दृष्टिविहिन क्रिकेटमा ‘गण्डकी हरियो’ विजयी

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय महिला दृष्टिविहिन क्रिकटमा गण्डकी हरियो टिम विजयी भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित उक्त प्रतियोगितामा गण्डकी हरियोले गण्डकी रातोलाई ७४ रनले पराजित गरेको हो । टस हारेर व्यटिङमा उत्रिएको गण्डकी हरियोले निर्धारत १२ ओभरमा ३ विकेटको क्षतीमा १४२ रन जोड्यो । गण्डकी हरियोलाई जिताउन विनिता पुन वि ३ ले ६७ रनको पारी खेल्दा रुपा विक वि १ ले २० रन बनाइन् । वलिङतर्फ गण्डकी रातोकी वि २ ले एक विकेट हात पार्दा दुई खेलाडी भने रन आउट भएका थिए ।

१४३ रनको लक्ष्य पछ्याएको गण्डकी रातो भने १२ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन मात्रै बनाउन सक्यो । गण्डकी रातोको लागि सिर्जना परियार वि २ ले २५ रन मात्रै बनाउन सकेको उक्त प्रतियोगिताका अम्पायर समेत रहेका रिजन प्रजुले जनाए । गण्डकी हरियोका लागि विष्णु कुमारी लामिछानेले ३ ओभरको वलिङमा १० रन खर्चिएर २ विकेट हात पारिन् ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेको उक्त कार्यक्रमका संयोजक अमृत बरालले जनाए । उक्त प्रतियोगिता ओलम्पिक दिवसको सन्दर्भलाई समेत जोडेर आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close