‘अब दौडिने भयो कर्णाली’ हुँदैछ हाफ म्याराथन र ५ किमि दौड

पोखरा स्पोर्टस । कर्णाली एथलेटिक्समा अपार सम्भावना बोकेको क्षेत्र हो । पहाडी र उच्च हिमाली क्षेत्रले धेरै भु–भाग ओगटेकोले ‘हाइ अल्टच्युट’ प्रतियोगिताहरु आयोजनाका लागि त कर्णाली लोकप्रिय ठाउँमा पर्छ ।

तर कर्णालीमा एथलेटिक्स प्रतियोगिताहरु कमै हुने गरेका छन् । अझ त्यसमा म्याराथन त झन न्युन मात्रमा हुने गर्छ । प्रतिभाको खानी भएको प्रदेशका रुपमा लिइन्छ कर्णालीलाई । त्यसको उदाहरण हुन काठमाडौंमा भएको १३औं सागमा रजत पदक जित्ने पुष्पा भण्डारी । भण्डारीले सल्यानबाट आफनो करियरको सुरुआत गरेकी थिइन । कर्णालीलाई अन्तराष्ट्रिय माझ चिनाउने प्रतिभाको सुचिमा धेरैको नाम आउने गर्छ । त्यसको अग्रपंक्तिमा पर्छन् कर्णालीका ‘हिरा’ उपनाम पाएका हरि बहादुर रोकाय । रोकायले सिकाएकी चेली विश्व रुपा बुढाले पनि अन्तराष्ट्रिय भुमिमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन । बुढा जस्तो थुप्रै खेलाडीले देशको राष्ट्रिय जर्सीमा प्रतियोगिता खेलिसकेका छन ।

कर्णालीले हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गर्ने गरेको छ आफनै मिहिनेतले । तर कर्णालीमा कमै मात्र प्रतियोगिता हुने गर्छन् । प्रतिभावान खेलाडी भएर पनि प्रतियोगिताको कमी भएको आभास हुन्छ कर्णालीका सयौं खेलाडीलाई । त्यही अभावलाई मेटने प्रयासमा पहिलो पटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुँदैछ ।

शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन ।

‘कर्णाली दोडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको हाफ म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रम जंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सय भन्दा बढिले प्रतिस्पर्धा गर्ने थापाले बताए । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा बताए ।

आयोजक मिड वेष्ट«न फिटनेस सेन्टर संस्थापक एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउँछन । उनले भने,‘हामी निकै उत्साही छौं । सुर्खेतमा पहिलो पटक हाफ म्याराथन हुँदैछ । खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन । आयोजना गर्ने स्थानको पहिचान र त्यस क्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ । सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो यो म्याराथन ।’

छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौति भएपनि त्यसलाई समाधान गर्दै अगाडी बढिरहेको बताउँछन हमाल । उनले थपे,‘हामीले यस प्रतियोगितामा जितसक्दो स्थानीयहरुको सहभागिता र सहकार्यलाई जोड दिएको छौं । निजि क्षेत्रसँग हातेमालो गरेर अगाडी बढने प्रयास गरेका छौं । तर पहिलो पटक भएर होला सोचे जस्तो सहकार्य हुन सकेको छैन । आगामी संस्करणमा आम कर्णालीवासीलाई सहकार्यका लागि आग्रह गर्दछु ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुल स्तरीय ५ किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताउँछन । उनले भने,‘ कर्णालीले खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचानलाई बढाएको छ । कर्णाली पुर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाँउका रुपमा चिनिन्छ । तर अब त्यो परिवेशमा परिवर्तन हुँदैछ । हामी प्रतिभामात्र होइन ठुला प्रतियोगिता पनि गर्न सक्छौं भन्ने सन्देश दिन चाहँन्छौं ।’

पछिल्लो समय कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पुर्वाधार निर्माण निकै फड्को मारिरहेको सदस्य सचिव सन्ज्यालले बताए । सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषदले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजि स्तरबाट जुटाउने प्रयास गरिरहेको छ ।

म्याराथनका ‘रेस डिरेक्टर’ विक्रम जंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे । उनले भने,‘म्याराथन गर्न सहज छैन । सुर्खेतका साथीहरुले आट गर्नु भएको छ । यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछ । भविष्यमा कर्णालीका अरु थुप्रै खेलाडीलाई पदक जित्न यसले सहयोग गर्नेछ ।’

प्रतियोगिता अन्तर्गत हाफ म्याराथन तर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन । विद्यालय तर्फको ५ किलोमिटर विजेता छात्र–छात्राले समान रुपमा १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन ।

प्रतियोगिताको रुट विरेन्द्र चौक रहेको छ । विरेन्द्र चौकबाट सुरु हुने म्याराथन बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाविट चोक, सुब्बा कुना हुँदैं फर्किएर बधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँद पुन विरेन्द्र चौकमा आएर समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close