खेलकुद महासंघको आह्वान–‘खेलाडी खेतमा दुई दिन’

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघले असार १५ गतेका दिन राष्ट्रिय धान दिवस तथा महासंघको आफ्नो स्थापना दिवस मनाउने भएको छ ।

महासंघको बैठकले असार १५ गते “खेलाडी खेतमा दुई दिन” भन्ने नाराका साथ हिले डोरी तान (टग अफ वार) प्रतियोगिताको आयोजना गरी मनाउने तथा मंसिर १४ गते महासंघ स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्सव आयोजना गर्ने जनाएको हो । महासंघको काठमाण्डौमा सम्पन्न बैठकले ‘काठमाडौं मेट्रो स्पोर्टस फेस्टिभल’ अन्तर्गत आयोजना हुन बाँकी खेलकुद कार्यक्रमहरु आगामी असार ११ गतेभित्र सम्पन्न गर्ने तथा विभिन्न सांस्कृतिक चाडपर्वहरुलाई मध्यनजर गर्दै स्थानीयस्तरमा खेलकुदलाई पर्वसँग जोड्दैे खेलकुदलाई जनताको मनमनमा पुर्‍याउने उद्देश्यले “जन-जनमा खेलकुद मन-मनमा खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद मार्फत स्वस्थ अभियानको शुरुवात गर्ने जनाएको छ ।

त्यसै गरी असार १० गतेसम्म महासंघ आवद्ध सबै खेलसंघहरुको बैठक बसी देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्यालेन्डर बनाउने संगै २०७९ साउन २८ र २९ गते महाधिवेशन आयोजक कमिटीको पूर्ण बैठक बसी राष्ट्रिय महाधिवेशनको मिति, स्थान तथा जिम्मेवारी तोक्ने समेत जनाएको छ ।  बैठकले गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा निर्वाचित नेपाल खेलकुद महासंघका विभिन्न नेताहरुलाई बधाई तथा कार्यसफलताको शुभकामना समेत दिएको छ ।

देशका केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी खेलका गतिविधिहरु सञ्चालन गर्नका लागि महासंघका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख दिपेन्द्र दाहालको संयोजकत्वमा १० सदस्यीय खेलकुद प्रतियोगिता विशेष उपसमिति गठन गरेको छ भने उक्त समितिको सदस्यहरुमा नन्दा बस्याल, प्रनिर अधिकारी, कपिल न्यौपाने, उमेश केसी, डिबि रानापाल, रुपेश अधिकारी, कृष्ण सिग्देल, कमल किशोर चौधरी र प्रकाश कुमार चन्दलाई तोकेको छ ।

महासंघको बैठकले पछिल्लो ४ महिना गरेका विभिन्न राजनितिक, सांगठनिक एवं आर्थिक गतिविधि समेटिएको प्रतिवेदन पारित गरेको छ । उक्त प्रतिवेदन संयोजक कृष्ण बस्नेतले बैठकमा प्रस्तुत गरेका थिए । साथै बैठकमा महासंघका सबै प्रदेशका ईन्चार्ज एवं विभागीय प्रमुखहरुले आ–आफ्नो प्रदेश तथा विभागका कार्यप्रगति विवरण प्रस्तुत गरेको जनाइएको छ ।

यसका साथै वर्तमान सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेटमा खेलकुद क्षेत्रमा बिनियोजित बजेट कम आएको भन्दै महासंघले विरोध गरेको छ । अघिल्लो आर्थिक वर्षको भन्दा करोडौं रकम कम विनियोजन भन्दै महासंघले विरोध गर्दै महासंघले भनेको छ–“यो बजेट खेलाडी र खेलक्षेत्रको विकासको पक्षमा छैन भने अन्यौलतामा रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको मिति समेत घोषणा भईसकेको अवस्थामा बजेटको आकार घट्नुले राष्ट्रिय खेलकुद प्रतियोगिता नै नहुने संकेत समेत हो ।” महासंघले बजेट प्रतिको धारणा स्पष्ट पार्न नेपाल सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

महासंघको ठेगाना परिवर्तन
महासंघले आफ्नो केन्द्रिय कार्यालय त्रिपुरेश्वरबाट काठमाडौ महानगरपालिका वडा नंं १० स्थित पुरानो बानेश्वर हाईटमा सारिएको जनाएको छ । उक्त नवनिर्मित कार्यालयको नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं खेलकुद महासंघ ईन्चार्ज सांसद गोकुल बास्कोटाले रिबन काटेर उद्घाटन समेत गरेका छन् ।

“खेलकुद नागरिकको मौलिक अधिकार, सम्वृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार” भन्ने मूल मान्यतालाई आत्मसात गर्दै महासंघका संयोजक कृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं महासंघ ईन्चार्ज गोकुल बास्कोटा र नेकपा एमाले केन्द्रिय सदस्य एवं महासंघ सहईन्चार्ज रमेशकुमार पौडेलको उपस्थिति रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close