
पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज सहितको टोली सोमबार रसिया भ्रमणमा जाने भएको छ ।
बक्सिङ्ग फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा नेपाल बक्सिङ्ग संघ पदाधिकारी सहित ८ सदस्यीय टोली रसिया जाने भएको हो । युवा तथा खेलकुद मन्त्री गहतराजको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागिय प्रमुख मधु सुदन बस्नेत, मन्त्रीका निजी सचिव रोसन कुमार सुनार र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले भ्रमण टोलीमा रहेका छन् ।
त्यसै गरी बक्सिङ संघका उपाध्यक्ष अर्जुन बहादुर के.सी. संघका सदस्य मान बहादुर भण्डारी र प्रवक्ता एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले भ्रमण टोलीमा समावेश रहेका छन् । दुवै देशको खेलकूद विकास र प्रवर्द्धनमा सहकार्य गर्ने मैत्रीपूर्ण भ्रमणमा छलफल हुने कार्यक्रम रहेको नेपाल बक्सिङ संघले जनाएको छ ।
यस्ता छन् भ्रमणका उद्धेश्य
क) नेपाल – रसिया बक्सिङ्ग खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान
ख) नेपाल – रसिया बक्सिङ्ग प्रशिक्षकहरुको क्षमता विकास र बृद्धीमा सहयोग गर्ने ।
ग) नेपाल – रसिया मैत्रीपूर्ण बक्सिङ्ग एवं अन्य खेलकुद प्रतियोगीता आयोजना एवं सहभागीता गराउने ।
घ) रसियाको स्पोर्टस साईन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रबृती व्यवस्था गर्ने ।
ङ) हिमालय क्षेत्र पदयात्रा एवं दौडको आयोजना गर्ने ।
च) खेलकुदबाट पर्यटन प्रवर्द्धनमा विविध विधाहरुमा छलफल हुने ।
छ) नेपालमा हाई अल्टीच्युड बक्सिङ्ग ट्रेनिङ्ग सेन्टर स्थापना गर्ने ।
भ्रमण दलले रसिया फेडरेशनको खेलकुद मन्त्री ओलेग भि. माटिटसिन सँग विशेष भेटघाटको साथै अन्तराष्ट्रिय बक्सिङ्ग संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ्ग फेडरेशन अफ रसियाका महासचिव (अध्यक्ष) टाटियाना किरियन्को, मस्को स्थित गैर आवासिय नेपाली टोली र मस्को स्थित नेपाली दुताबास सँग भेटघाटको साथै जुन १५ मा बक्सिङ्ग प्रतियोगितामा सहभागी हुने कार्यक्रम रहेको संघले जनाएको छ ।
भ्रमण टोली जुन १६ मा स्वदेशमा फर्कने कार्यक्रम रहेको छ ।
