
पोखरा स्पोर्टस । नेपाली खेलकुद विकासका लागि जननेता मदन भण्डारीको नाममा गठित मदन भण्डारी स्पोर्ट्स एकेडेमीले केन्द्रिय खेलकुद विभाग गठन गर्दै आफ्नो गतिविधिलाई समेत तिव्रता दिएको छ ।

एकेडेमीको आज काठमाडौमा सम्पन्न बैठकले विभिन्न खेलकुद विभाग गठन संगै प्रतियोगिताहरुको आयोजना गर्ने तथा नेशनल हस्पिटल संग स्वास्थ्य उपचार सम्झौता समेत गरेको हो । सो अवसरमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य,पूर्बमन्त्री तथा एकेडेमीका केन्द्रीय सल्लाहकार मणिचन्द्र थापाले राजनीतिलाई सही दिशामा लैजान खेल क्षेत्र र खेलाडीहरुले सकृय भुमिकाका लागि आग्रह गरेका छन् । उनले भने–“खेलले जीवन,जगत र राजनीतिमा ठूलो प्रभाव पार्छ तर राजनैतिक अस्थिरताले नेपाली खेलकुद अस्थिर भएको छ ।”
समाजका हरेक क्षेत्रका मदन भण्डारीका बिचारको प्रभाव र योगदान बिर्सिन नसकिने चर्चा गर्दै उनले मदन भण्डारीको नामबाट स्थापित एकेडेमीले नाम अनुसारको काम गर्दै खेलाडी र खेलप्रेमीहरुको मन जित्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एकेडेमीका संस्थापक अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिब रमेश सिलवालले खेलकुद क्षेत्रबारे राजनैतिक दलहरुले स्पष्ट दृष्टिकोण बनाउनु पर्ने कुरामा जोड दिए । उनले खेलकुदमा राजनीति गर्न नहुने तर भइरहेको बताउँदै खेलाडीहरुले राजनीतिबाट टाढा बस्न नहुने बताउँदै भने–“दलहरुले चुनावमा मात्र खेल क्षेत्रका एजेण्डा उठाउने तर अरु बेला बिर्सिने गरेका छन् तर एमाले सरकारमा हुँदा खेल क्षेत्रको बिकासमा उल्लेख्य काम भएको छ ।”
एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुब आचार्यले एकेडेमीको घोषित नीति र लक्ष्य अनुसार तीब्र गतिमा काम भइरहेको उल्लेख गर्दै संगठन बिस्तारसंगै खेल प्रतियोगिता र खेल शिक्षा अभियानलाई योजनाबद्ध तरिकाले अघि बढाएको बताए ।
सो अवसरमा एकेडेमीका उपमहासचिव सुवर्ण श्रेष्ठ, सचिब डा.शक्ति बस्नेत, डा.सुमन श्रेष्ठ लगायतले एकेडेमीले पछिल्लो समयमा खेल क्षेत्रको विकास संगै खेलाडीहरुको जिवनवृतीका लागि आवाज उठाउँदै आएको बताए ।
यस्तो छ विभाग
१. केन्द्रीय भलिबल बिभाग –प्रमुख नीलम बज्राचार्य
२. रिङ्ग रेस्लिङ्ग बिभाग – प्रमुख कमल तामांग
३. पावर लिफ्टिंग बिभाग–प्रमुख उत्सब अधिकारी
४. शारीरिक सुगठन बिभाग –प्रमुख राज कुमार श्रेष्ठ
५. फुल कन्ट्याक्ट बिभाग–प्रमुख राज कुमार लामा
६. टेबल टेनिस बिभाग–प्रमुख महेन्द्र लिगल
एकेडेमीले मदन जयन्ती (असार १४)का अवसरमा एक महिनासम्म बिभिन्न खेल प्रतियोगिताहरुको मिति घोषणा गरेको छ । अध्यक्ष आचार्यले बिभिन्न मितिमा काठमाण्डौ, झापा, बुटवल लगायतका स्थानहरुमा क्रिकेट,भलिबल, रेस्लिंग, बास्केट बल, तेक्वान्दो लगायतका प्रतियोगिता र प्रशिक्षक तालीम हुने जानकारी दिएका छन् । ती प्रतियोगिता असार ३ देखि २२ गतेसम्म सञ्चालन हुनेछन् ।
एकेडेमीमा आवद्ध खेल अगुवा,खेलाडी र उनीहरुको परिवारको उपचारमा सहुलियत हुने गरी एकेडेमी र काठमाडौस्थित नेपाल नेश्नल हस्पिटलविच पाँच बर्षका लागि ६ बूँदै संझौता भएको छ । सहकार्य र संझौतामा अस्पतालका मेडिकल डाइरेक्टर डा.प्रकाश पौडेल र एकेडेमीका अध्यक्ष आचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि डा.पौडेलले संझौताको मितिदेखि नै हरेक प्रकारका उपचारमा २५ प्रतिशतसम्म छुट, एम्बुलेन्स र ओपिडी निःशुल्क हुने जानकारी दिए । खेलाडीहरुको सम्मानका लागि यस्तो शुरुवात गरिएको बताउदै अस्पतालले दुबै संस्था मिलेर थप सेवा दिने बारे सुझाव लिने बताएका छन् ।
अस्पताल संग सम्झौता भए संगै एकेडेमीका अध्यक्ष आचार्यले अस्पताललाई धन्यवाद ज्ञापन गर्दै सहकार्यलाई थप मजबुद बनाउदै लैजाने उल्लेख गरे ।
