प्याराग्लाइडिङ च्याम्पियनसिपमा नेपाल आर्मीका जलारीको अग्रता

पोखरा स्पोर्टस । पोखरामा जारी ‘२० औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’ अन्तर्गत बिहिबार एक्युरेसी सोलो ओभरअलतर्फ दोश्रो दिन नेपाल आर्मीका सागर जलारीले १२ अंकका साथ अग्रता कायम गरेका छन् ।

पोखरेली प्याराग्लाइडिङ व्यवसायीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा भइरहेको तिन दिने प्रतियोगितामा जलारी सोलो ओभरअलमा अग्रता बढाएका हुन् । उनले आफ्ना प्रतिद्वन्दी विशाल तिमिल्सिना भन्दा एक अंकले अघि छन् । विशालले आफ्ना तिन उडानमा १३ अंक बटुल्दै दोश्रो स्थानमा छन् भने उनी भन्दा एक अंकले अमन थापा पछि छन् । अमनले समग्र तिन उडानमा १४ अंक प्राप्त गरी तेश्रो स्थानमा बनाउन सफल भएका छन् ।

त्यस्तै महिलातर्फको सोलो ओभरअलमा दुर्गा माया गुरुङ २०९ अंकका साथ प्रथम स्थानमा रहेकी छन् । खेलमा स्वस्तिाका गुरुङ ३७५ अंकका साथ दोश्रो स्थानमा रहेको टेक्निकल सह–संयोजक अनिल केसीले जनाएका छन् । महिलातर्फकै प्रतियोगितामा विध्या राई ६१६ अंकका साथ तेश्रो स्थानमा रहेकी छन् ।

प्रतियोगिता अन्तर्गत नै सञ्चालन भइरहेको टेण्डम अभरअलतर्फ ४२ अंकका साथ इन्द्र नेपाली अन्य खेलाडी भन्दा किनै अग्रस्थानमा रहेका छन् । यसै गरी सोही इभेन्टमा नुरेन राना ११८ अंकका साथ दोश्रो र विकाश परियार १८४ अंकका साथ तेश्रो स्थानमा आफूलाई उभ्याएका छन् ।

प्रतियोगितामा एक्युरेसी सोलो ओभरअल पुरुष इभेन्टतर्फ ३२, एक्युरेसी टेन्डम ओभरअल तर्फ ३५ र एक्युरेसी महिलातर्फ ८ खेलाडी गरी कुल ७५ खेलाडीहरुले प्रतिष्पर्धा गरिरहेको ना ले जनाएको छ ।

यस पटक एक्युरेसी तर्फको प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक बलराम आचार्यले बताए । महिला/पुरुष तथा टिम तर्फ गरी ७ वटा इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको संयोजक आचार्यले जनाए । प्याराग्लाइडिङको एक्युरेसी तर्फ सोलो ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्ने छन् । सोही विधामा महिलातर्फ भने प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्नेछन् ।

त्यसै गरी टिम एक्युरेसी सोलो ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तेश्रो हुनेले क्रमशः २०, १५, १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् । एक्युरेसी टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो तथा सान्त्वना हुनेले क्रमशः ३०, २०, १०, ५ हजार रुपैया प्राप्त गर्ने भएको छ । त्यस्तै एक्युरेसी टिम टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तेश्रो हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएको नाले जनाएको छ ।

एयर शो (एक्रोबेटिक) तर्फ प्रथम, द्वितीय र तेश्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएका छन भने वेष्ट कस्टुयुमतर्फ उत्कृष्ट एक जना खेलाडीलाई १० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरिने भएको नाका अध्यक्ष कृष्ण भण्डारीले बताए । प्रतियोगितामा गण्डकी प्रदेशको राजधानी पोखरा सहित मधेश प्रदेश बाहेक अधिकांश प्रदेशका खेलाडीहरु सहभागि छन् । विभागिय टीमबाट नेपाली सेनाका खेलाडी समेत सहभागिता जनाएका छन् ।

पोखरामा व्यवसायिक रुपमा सञ्चालन भएका ६० भन्दा वढी कम्पनी रहेको र करिव ३ सय ६६ टेण्डम प्याराग्लाइडिङ पाइलट र करिव एक सय ४० जना सोलो प्याराग्लाईडिङ पाइलटहरु रहेको प्रतियोगिता टेक्निकल डाइरेक्टर योगेश भट्टराईले जनाएका छन् ।

प्रतियोगिताको समापन शुक्रबार हुने ना का अध्यक्ष कृष्ण भण्डारीले पोखरा स्पोर्टसलाई बताए । भोली समापनका दिन आर्कषक मानिने सांस्कृतिक भेष भुषा सहित पाइलटहरुले उडान भर्नेछन् भने एयर शो (एक्रोवेटिक) खेल समेत हुने भएको छ ।

प्रतियोगितालाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा भएको नाले जनाएको छ भने प्रतियोगिताको प्रवर्द्धन नेपाल पर्यटन वोर्डले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close