
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषदले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ ।
प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितीको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश र संघिय सरकार बाट विभिन्न योजनाहरुमा प्राप्त बजेट सँगै बजेट नभएका योजनाहरु समेतको कार्य सम्पादन गर्न प्रदेश खेलकुद परिषदका सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले योजना अन्तर्गत कुनै बजेट नभए पनि स्रोतहरुको खोजी गर्दै प्रदेशका नागरिकहरुलाई स्वस्थ्य बनाउने उद्धेश्यका साथ कसरी अघि बढ्न सकिन्छ भन्ने बारे सचेतताका साथ अघि बढेको सदस्य सचिव गुरुङले बताए । उनले भने–“यो पटक हामीले सोचे जस्तो गरी बजेट आएको छैन तर पनि मन्त्रालय संगको सहकार्यमा हामी खेलकुद मार्फत सचेतनाका कार्यक्रम संगै खेलकुदको विकास गर्ने भन्ने बारे गम्भिर भएर अगाडी बढ्दै छौं ।” सदस्य सचिव गुरुङले रणनितिक योजनाहरुको सफलतापूर्वक सञ्चालन गर्न संयोजक सहित तिन–तिन सदस्यिय समिती गठन गरेको जनाउँदै सबै प्रदेश खेलकुद परिषदका सदस्यहरुलाई समेत समिती अन्तर्गत जिम्मेवारी तोकिएको बताए ।
प्रदेश खेलकुद परिषदले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङलाई यूवा स्वरोजगार कार्यक्रमको संयोजक तोकेको छ भने परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङलाई विभिन्न योजनाहरुको कार्यविधि र मापदण्ड निर्धारण, कार्यकारी सदस्य ऋषीराम गौतमलाई आधारभुत खेल मैदानहरुको स्त्तरोन्नती तथा जिल्लाहरुमा पूर्वाधारहरुको लगत संकलन गर्ने जिम्मेवारी दिएको छ । त्यस्तै कार्यकारी सदस्य तारा माया थापा मगर लाई प्रदेशको प्राथमिकताका आधारमा खेलहरुको वर्गिकरण गर्न जिम्मेवारी दिइएको छ ।
त्यस्तै रेफ्रि, स्वयसेवक प्रशिक्षण, खेलकुद शिक्षकहरुका लागि प्रशिक्षणको संयोजकमा निर्मला बराल रहेकी छन् भने ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम अन्तर्गत खगेन्द्र क्षेत्री संयोजक रहेका छन । प्रदेश भित्र वाटर स्पोर्टसको अध्ययन अनुशन्धान, शाहसिक खेलकुदको प्रवर्द्धनका लागि बसन्तराज दवाडी, खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा पदर्शनका लागि योगिता कुमारी मल्ल सहनी, सक्रिय खेलाडी संगै पूर्व खेलाडीहरुको व्यक्तिगत र समुहगत तथ्याङ्क र सूचना प्रविधिको संयोजकको जिम्मेवारी केशव पाठकलाई सुम्पिएको छ ।
बैठकले अपाङ्गता खेलकुदको प्रतियोगिता सञ्चालनका लागि अमृत बराल, ११ वटै जिल्लामा सडक दौड प्रतियोगिता आयोजना गर्ने संयोजकमा योगेन्द्र गुरुङ, पोखरा रंगशाला भित्र खानेपानीको व्यवस्थापनका लागि योगेन्द्र शेरचन र खेलकुद पुस्तकालयको स्थापनाको लागि शुभकन्या गुरुङलाई जिम्मेवारी दिएको छ भने प्रशिक्षक प्रशिक्षण प्राविधिकतर्फको संयोजकमा कृष्ण तिमिल्सिना र परम्परागत खेलहरुको संरक्षण, प्रवर्द्धन तथा प्रतियोगिता सञ्चालनको लागि रामचन्द्र थापालाई जिम्मेवारी दिइएको छ ।
यस संगै प्रदेश खेलकुद परिषदले पोखरा रंगशालामा खेलाडी तथा प्रशिक्षकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने भएको सदस्य सचिव तेज बहादुर गुरुङले बताएका छन् ।
