प्रधानमन्त्री कप महिला भलिबलमा हरियाणा र नेपाल पुलिस भिड्ने

पोखरा स्पोर्टस । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन आइतबार हरियाणाले न्यू डायमण्ड एकेडेमीलाई र पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा हरियाणाले न्यू डायमण्डलाई २५–१७, २५–१५, २३–२५ र २५–१६ ले हराएको थियो । न्यू डायमण्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् ।

दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, र २८–२६ ले हराएको थियो । पुलिसकी कामना विष्ट प्लेयर अफ दी म्याच घोषित भइन् ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close