
पोखरा स्पोर्टस । पाँचौ ब्यास अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका बेदबहादुर सुनुवारले जितेका छन् ।
खेल मार्फत पर्यटन प्रवर्द्धन गर्न आयोजित अल्ट्रा म्याराथनको ४४ किलो मिटरको दुरी २ घन्टा ५८ मिनेटमा पार गर्दै उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद ८५ हजार ७८ रुपैयाँ हात पारेका छन् । यसै गरी नेपाली सेनाकै मोहनदेव जोशीले उक्त दुरी ३ घन्टा ५ मिनेटमा पार गर्दै दोस्रो भए । उनले नगद ६५ हजार ७८ रुपैयाँ हात पारे भने नवराज साउद तृतीय स्थान हात पार्न सफल भए । उनले नगद ५५ हजार ७८ रुपैयाँ प्राप्त गरे ।
पर्यटन प्रवर्द्धन म्याराथन कोसेढुङ्गा सावित : मुख्यमन्त्री पोखरेल
यस अघि उक्त अल्ट्रा म्याराथनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन प्रवरद्धनका लागि व्यास प्रतियोगिता कोसेढुङ्गा सावित भएको बताए । व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु भएको म्याराथनको व्यास–८ पुलिमराङमा भएको समापन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले आयोजना गरेको म्याराथन पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
व्यासनगरपालिकाले दुई ऐतिहासिकस्थललाई खेलकुदका माध्यमबाट जोड्न खेलेको भूमिका सराहनीय भएको भन्दै उहाँले यसबाट अन्य पालिकाले पनि सिको गर्नु पर्ने औंल्याए । व्यास नगरपालिका–५ मानुङकोटबाट व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीमा उक्त म्याराथन आयोजना गरिएको हो ।
व्यास नगरपालिकाले थालेको म्याराथन प्रतियोगितालाई आगामी दिनमा निर्वाचित हुने जनप्रतिनिधिले समेत प्राथामिकता दिएर निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ । प्रतियोगितामा एक विदेशी सहित १६८ जना धावकहरुको सहभागिता रहेको थियो ।
