पोखरा म्याराथन सफल बनाउन पर्यटन व्यवसायीले साथ दिने

पोखरा स्पोर्टस । पोखरामा पछिल्लो समय यता खेलकुद गतिविधिमा पर्यटन व्यवसायीहरुले साथ दिने क्रम बढ्दै गएको छ । खेलकुद मार्फत पर्यटन प्रवर्द्धनको सम्भावनालाई मध्यनजर गर्दै पर्यटन व्यवसायीहरु समेत पोखरामा हुने खेलकुद गतिविधिलाई साथ र सहयोग गर्ने प्रचलन समेत बढ्दै गएको हो ।

यहि सिलसिलामा आगामी फागुन ७ गते हुने नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई समेत पोखरेली पर्यटन व्यवसायीहरुले साथ दिने जनाएका हुन् । पोखरेली पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदको अगुवाईमा सोमबार पोखरामा बसेको पर्यटन व्यसायीहरुको एक भेलाले पोखरा म्याराथनलाई सफल बनाउन आ–आफ्नो संस्थाले पूर्ण सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

पोखराको पर्यटनको मुख्य थलो मानिने लेकसाइड बैदाम क्षेत्रबाट हुँदै धावकहरु दौडिने समेत भएकोले उक्त क्षेत्रमा पर्यटन व्यवसायीहरुले आ–आफ्नो संस्थाको व्यानर र वाजा गाजा सहित स्वागत गर्दै उनीहरुलाई हौसला समेत बढाउन आ–आफ्नो संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

पर्यटन व्यवसायहरुको भेलामा अग्रज पर्यटन व्यवासायी गणेश बहादुर भट्टराईले पोखरा म्याराथनलाई सफल बनाउन पर्यटन व्यवसायीहरुको सदैव साथ रहको र साथ रहने बताए । यस्तै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले पोखरा म्याराथन पोखराले गर्व गर्ने खेलकुद कार्यक्रम रहेकोले परिषदले आफ्नो तर्फबाट सक्दो सहयोग रहने उल्लेख गर्दै पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा चिनाउन पोखरा म्याराथनको समेत भूमिका प्रशंसनिय रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल होटल संघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल होटल संघ (हान)का पूर्व अध्यक्ष भरतराज पराजुली, पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष लक्ष्मण सुवेदी, रेष्टुरेन्ट एण्ड वार एशोसियसनका अध्यक्ष लक्ष्मण बराल, पोखरा पर्यटन परिषदका उपाध्यक्ष पोम नारायण श्रेष्ठ, भिटोफका अध्यक्ष उदय सुवेदी, नाटा पोखरा द्वितिय उपाध्यक्ष किशोर दाहाल लगायतले भेलामा आफ्ना धारणा राख्दै बदलिंदो परिवेशमा खेलकुद र पर्यटन एक सिक्काका दुई पाटा भएकोले पर्यटन व्यवसायीहरु पोखरा म्याराथन सफल बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने बताएका थिए ।

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरेली पर्यटन व्यवसायीहरुको साथ र सहयोगले नै केही वर्ष यता पोखरा म्याराथन सफल हुँदै गएको उल्लेख गरे । पोखरा म्याराथन आयोजक अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन सफल बनाउन पोखरेली पर्यटन व्यवसायीहरुलाई आग्रह गर्दै खेलकुद र पर्यटनलाई जोड्न सके आगामी दिनमा अझै वढि सफलता प्राप्त गर्न सहयोग हुने बताए । कार्यक्रममा मञ्चका द्वितिय उपाध्यक्ष खेम बहादुर गुरुङ, महासचिव कृष्ण तिमिल्सिनाको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close