
पोखरा स्पोर्टस । दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेलरेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् ।
खुलातर्फको प्रतियोगितामा महतराले दुई घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौबीस किलोमिटरको दूरी पार गरेर उपाधि जितेका हुन् । एक सय १८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका महतराले रु एक लाख १० हजार नगद समेत हात पारेका छन् ।
प्रतियोगितामा दुई घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गरेर त्रिभुवन आर्मी क्लबकै श्रीकास राई दोस्रो भएका छन् । उनले नगद रु ७५ हजार हात पार्दा तेस्रो सोलुखुम्बुका सुमन कुलुङले दुई घण्टा २१ मिनेटमा निर्धारित दूरी पार गरेर तेस्रो भए । उनले रु ५५ हजार नगद प्राप्त गरे । चौथो, पाँचौ र छैटौँ हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई र याङदेव राईले क्रमशः रु ४०, ३० र २० हजार नगद पुरस्कार जित्न सफल भए।
त्यस्तै महिलातर्फ सिन्धुपाल्चोका नीतु तामाङ प्रथम हुन सफल भएकी छन् । उनले तीन घण्टा १७ मिनेटमा निर्धारित दूरी पार गरी रु ६० हजार नगद पुरस्कार जितिन्। दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोकै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले रु ३५ र २० हजार पुरस्कार पाए । जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरूले क्रमशः रु ३०, २० र १५ हजार पुरस्कार हात पारे ।
सिन्धुपाल्चोक जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेतालाई पुरस्कार वितरण गरेका थिए । भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनमा गत वर्षदेखि ट्रेलरेसको आयोजना हुँदै आएको छ ।
नेपाल–तिब्बतबीच भएको युद्ध ऐतिहासिक एवं सामरिकस्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचार–प्रसार एवं पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउनका लागि यो आयोजना हुँदै आएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सहायक रथी महतले प्रतियोगिताले सहासिक खेलकुदको विकाससँगै सैनिक र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सामरिक महत्वको ऐतिहासिक दुगुनागढीको पहिचान नयाँ पुस्तामा हस्तान्तरण र पर्यटकी गन्तव्यको रूपमा चिनाउन ट्रेलरेसको आयोजना गरिएको पालिका अध्यक्ष पौडलले बताए।
