
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्बाट गठित ५ सदस्य राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका–२०७८ मस्यौदा उप समितीले तयार गरेको मस्यौदा हस्तान्तरण गरेको छ ।
उप समितिका संयोजक सरोजकुमार पोखरेलले परिषद्का उपाध्यक्ष शिव कोईराला तथा निमित्त सदस्य सचिव कुलवहादुर थापालाई शुक्रवार संयुक्त रुपमा प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेका हुन् । मस्यौदा हस्तान्तरण गरिए पनि राखेपले त्यसलाई अन्तिम रुप दिन भने बाँकी छ । नयाँ खेलकुद ऐन लागु भए संगै लामो समय देखि खेलसंघहरुको निर्वाचन हुन सकेको छैन ।
उपसमितीले तयार पारेको मस्यौदा ग्रहण गर्दै राखेपका उपाध्यक्ष कोईरालाले मस्यौंदा उपसमितिलाई धन्यवाद दिए । उनले सो अवसरमा भने–‘यहाँहरुले सवै कुराको अध्यायन गरेर नै मस्यौदा तयार गर्नु भएको छ । यसलाई अन्तिम रुप दिन द्रुत रुपले कार्य गर्न जरुरी छ । कानुनका कारण संघहरुको निर्वाचन रोकिएको छ, अब चाँडै निकास दिनु पर्छ ।”
राखेपका निमित्त सदस्य सचिव कुलवहादुर थापाले लामो अनुभब भएका साथीहरुले तयार पारेको मस्यौंदाले अवश्य पनि सम्पूर्ण पक्षलाई समेटेको उल्लेख गरे । उनले यथासिघ्र सरोकारवालासँग छलफल गरेर सुझाबलाई समेत समेटेर कानुन शाखाको राय अनुसार अन्तिम रुप दिनुपर्ने बताए । हस्तान्तरणकै अवसरमा निमित्त सदस्य सचिव थापाले खेलकुद विकास विभागका प्रमुख बज्र केसीलाई आवश्यक प्रकृया अगाडि बढाउन जिम्मेवारी समेत दिएका छन् ।
हस्तान्तरण अघि संघ संस्था समन्वय शाखाका प्रमुख समेत रहेका संयोजक पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन–२०७७, खेलकुद विकास ऐन–२०४९ लगायत खेलकुद संचालन सम्बन्धी ऐन, कानृुन र कार्यविधि अध्यायन गरेर तयार पारेको छ । परिषद्मा आवद्ध संघ संस्थालाई ब्यवस्थित ढंगले संचालन गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाई छ ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बिभागिय प्रमुख मधुसुदन बस्नेत, कर्मचारी प्रशासन शाखाका प्रमुख बिनोद उप्रेती, समितिकी सदस्य युवा तथा खेलकुद मन्त्रालयकी शाखा अधिकृत रेखा सिग्देल, सदस्य राखेपका प्रशासकिय अधिकृत चन्द्र राई, सदस्य राखेपका प्रशासकिय अधिकृत धन शाहीको उपस्थिति रहेको थियो ।
