
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रदेशस्तरीय पुरुष खुला आर्चरी प्रतियोगिता पोखरामा सुरु भएको छ ।




कास्की जिल्ला आर्चरी सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । उनले सो अवसरमा आर्चरी खेल विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
सो अवसरमा मन्त्री गुरुङले शुक्रबार सम्पन्न रेङ्किङ राउण्डमा उत्कृष्ट हुन सफल खेलाडी सुजन पुनलाई नगद ५ हजार सहित पुरस्कृत गरेका थिए । सुजनलाई काठमाडौं दि वेष्ट आर्चरीका नविन वस्नेतले नगद २० हजार बरावरको खेल सामाग्री प्रदान गरेको संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले परम्रागत रुपमा खेलिने आर्चरी खेल विकासका लागि सिमित स्रोत र साधनका वावजुद समेत प्रदेश खेलकुदले केही कार्यक्रमहरु अघि सारको बताए । उनले भने–“हाम्रा अग्रजहरुले गर्दा नै नेपालको आर्चरी खेल विकासले गति लिएको छ । आर्चरी खेल संस्कृती संग जोडिएको हुनाले पनि यसको महत्व ठूलो छ ।” उनले खेलकुद विकासका लागि सरकारको लगानी मात्रै नभई निजी क्षेत्र समेत अगाडी आउन आवश्यक रहने बताए ।
सो अवसरमा नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले आर्चरी खेल विकासका लागि सरकारको लागि प्रयाप्त हुन नसकेको गुनासो गर्दै भने–“यो खेलको महत्व ठूलो छ । ओलम्पिकमा पदकको सम्भावना पनि छ । तर लगानी हुन नसक्दा यसको विकास हुन सकेको छैन ।” उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजनका लागि नेपाल आर्चरी संघले पहल गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए ।
कास्की जिल्ला आर्चरी संघका अध्यक्ष एवम प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक वसन्त गौचन (साकुरा), सहसचिव चित्र रोका लगायतले बोलेका थिए ।
प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गरी उनीहरुलाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीबाट गरी ६४ खेलाडीले ‘स्ट्याण्डर्ड– ३०’ मिटरमा उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताबाट छानिएका १० उत्कृष्ट खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरामै थप प्रशिक्षण सञ्चालन गरिने अध्यक्ष शेरचनले पोखरा स्पोर्टसलाई बताए ।
शुक्रबारको खेलबाट सहभागि ६४ जना मध्ये दोश्रो चरणका लागि ३२ खेलाडी प्रवेश गरेका छन् । ६४ जनाको नकाउट चरणबाट ३२ जना छनोट भएका हुन् । र्याङकिङ राउण्डमा म्याग्दीका २४ वर्षिय सुजन पुन सर्वाधिक स्कोर बनाउँदैं र्याङकिङको शीर्षस्थानमा रहँदै नकाउट राउण्ड प्रवेश गरेका थिए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो दिनको र्याङकिङ राउण्डमा खेलाडीहरुले १० डोर प्रहार गरेका थिए । राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीले समेत प्रतिस्पर्धा गरेका छैनन् । ‘राष्ट्रिय प्रतियोगितामा यो इभेन्टमा पदक विजेता खेलाडीले सहभागिता जनाउन पाउँदैनन् । पदक विजेता खेलाडी अपग्रेड हुन्छन् ।’ प्रतियोगिताका संयोजक गौचनले बताए । उनीहरु कम्पाउण्ड ५० मिटर र रिकर्भ ७० मिटर खेल्नुपर्ने हुन्छ ।
प्रदेशस्तरीय सो प्रतियोगिताबाट छनोट भएकामध्ये चार खेलाडीले राष्ट्रिय खेलकुदमा ‘स्टाण्डर्ड क्याटागोरी’मा पदकका लागि भिड्नेछन् । प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएकोे छ । व्यक्तिगततर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः रु २५, २०, १५ र १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल इन्भेष्ट बैंक पोखरा शाखा, विभिन्न व्यवसायिक प्रतिष्ठान तथा देश विदेशमा रहेकाहरुले सहयोग गरेका छन् ।
