१४ औं हिसान स्पोर्टस मिटमा ४ खेल समावेश हुने

पोखरा स्पोर्टस । पोखरामा हुने १४ औं संस्करणको हिसान स्पोर्टस मिट अन्तर्गत ४ खेल समावेश हुने भएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा हुने १४ औं संस्करणको स्पोर्टस मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबलका इभेन्टहरु हुने भएका हुन् । पोखरा स्पोर्टससंग प्रतियोगिता बारे कुरा गर्दै हिसान कास्कीका निवर्तमान अध्यक्ष तथा प्रतियोगिताका संयोजक डा.रामजी शर्माले १४ औं संस्करणमा व्याडमिन्टन इभेन्ट थपिएको बताए । यस अघि प्रतियोगिता अन्तर्गत तिन इभेन्ट हुँदै आएका थिए । उनले स्पोर्टस मिटका लागि आन्तरिक तयारी समेत शुरु गरिएको जानकारी दिए ।

“स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद” भन्ने नाराका साथ आगामी पौष ८ गतेदेखि १२ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा कक्षा ११, १२ र युनिभर्सिटी तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिने बताउँदै संयोजक शर्माले खेलाडी उत्पादनका लागि समेत प्रतियोगिता सार्थक हुने बताए । “हिसानले शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप अन्तर्गत खेलकुद लगायत अन्य कार्यक्रमहरुलाई प्राथमिकता दिंदै आएको छ” डा.शर्माले भने–“खेलकुदमा सहभागिताले उनीहरुलाई आफ्नो वौद्धिक विकासको प्रष्फुटनमा थप सहयोग पुग्नेछ ।”

स्पोर्टस मिट अन्तर्गत दुई तहमा प्रतियोगिता हुने प्रतियोगिताका संयोजक डा.शर्माले बताए । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी र कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले छुट्टा–छुटटै प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिामा हिसान कास्कीमा आवद्ध विद्यालयका छात्र/छात्राहरु गरि ८ हजार विद्यार्थीहरु प्रत्यक्ष तथा परोक्षरुपमा सहभागिता हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा ७० भन्दा वढी विद्यालय तथा कलेजहरु आवद्य छन् ।

हिसानले यस संगै गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रतियोगिता आयोजना गर्न सोंच बनाएको हिसान गण्डकी प्रदेशका समेत कार्यवाहक अध्यक्ष समेत रहेका डा.शर्माले जानकारी दिए । उनले भने–“प्रदेश स्थित सबै हिसान संगठित जिल्लालाई कुनै आफ्नो जिल्लामा अनुकुल हुने गरी एक खेल रोज्ने गरी अगाडी बढ्ने सोंच बनाएका छौं, ति जिल्लाबाट विजेता भएका टिम तथा खेलाडीहरु प्रदेशस्तरिय हिसान स्पोर्टस मिटमा सहभागी गराउनेछौं ।” प्रदेश स्तरिय हिसान स्पोर्टस मिट गर्नुको पछाडी खेलाडीहरुको अवस्था वुझ्ने संगै उनीहरुको प्रतिभा प्रष्फुटन गराई राष्ट्रिय प्रतियोगितामा ‘प्ल्याटफर्म’ दिन समेत सहज हुने उनले बताए । “जिल्ला र प्रदेशमा हुने स्पोर्टस मिटले प्रदेशमा  उर्जावान यूवा खेलाडीहरुको उत्पादन हुने हामीले ठानेका छौं,” उनले भने ।

स्मरणिय के छ भने १३ औं सस्करणको हिसान स्पोर्टस मिटको उपाधी न्यू ग्यालेक्सीले जितेको थियो । न्यू ग्यालेक्सीले ११ औं, १२ औं र १३ औं सस्करण लगातार जितेर गत वर्ष रनिङ्ग शिल्ड माथी कव्जा नै जमाएको थियो । हरेक वर्ष आयोजना हुने हिसान स्पोर्टस मिट भने गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close