
पोखरा स्पोर्टस । सहारा क्लब पोखराद्वारा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठले पाउने भएका छन् ।
प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका हुन् । पुरस्कार राशि नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

उक्त पुरस्कार वापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रदान गर्दै आएका छन् ।
तनहुँको पुर्कोटका सनिष विगत ७ वर्षदेखि फुटबलमा आवद्ध छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्षेनी एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ ।
यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।
सहारा क्लब पोखराको आयोजनामा २४ औं संस्करणको आहारारा पोखरा गोल्डकप मंगलबारदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताए । प्रतियोगिता उद्घाटन अवसरमै सनिषलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।
