
पोखरा स्पोर्टस । सहारा क्लव पोखरा द्वारा सञ्चालित पोखरा १७ दोविल्ला स्थित सूर्य बहादुर केसी स्मृती सहारा फुटबल एकेडेमीको अक्षयकोषका लागि टुक बबहादु पुनले एक लाख नगद सहयोग गरेका छन् ।
पोखरा लेखनाथ घर भई हङकङ स्थित यौमरीमा व्यवसाय सञ्चालन गर्दै आएका पुनले सहारा एकेडेमी पुगेर एक लाख चेक हस्तान्तरण गरेका हुन् । व्यवसायी तथा समाजसेवी पुनले उक्त चेक सहाराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई एकेडेमी पुगेर हस्तान्तरण गरेका छन् ।
त्यस्तै सोही अवसरमा सहारा हङकङका आजिवन सदस्य गङ्गा बहादुर गुरुङले सहारामा आश्रित बालकहरुलाई तिहार पर्व मनाउनका लागि नगद ५ हजार प्रदान गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा लेखनाथ क्लवका अध्यक्ष तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी बाल गोपाल श्रेष्ठ, सहारका निवर्तमान अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष चित्र बहादुर पुन,महासचिव रामजी प्रसाद अधिकारी तथा क्लवका पूर्व कार्यसमिती सदस्य रविन श्रेष्ठको सहभागिता रहेको थियो । क्लवको २०७८/२०७९ को वार्षिक प्रतिवेदन अनुसार हाल एकेडेमीको अक्षय कोषमा २ करोड १८ लाख रकम रहेको क्लवले जनाएको छ ।
स्मरणिय के छ भने एकेडेमीलाई केही दिन अघि मात्रै उद्योगपति तथा समाजसेवी स्व. सूर्य बहादुर केसीको परिवारले १० वर्षका लागि वार्षिक १५ लाख दिने घोषणा गरिसकेको छ । २०५८ सालमा स्थापना भएको एकेडेमीमा हाल १४ जिल्लाका विपन्न एवम कठिन परिस्थितीका २४ जना बालकहरु आश्रित छन् । क्लवले उनीहरुलाई शिक्षा सँगै फुटबल प्रशिक्षण दिंदै आएको छ ।
