
पोखरा स्पोर्टस । सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई उद्योगपती तथा सामाजिक अभियान्ता स्व.सूर्य बहादुर केसीको परिवारले साथ दिने भएको छ ।

स्व. केसीको परिवारले उनको इतिहासलाई जिवन्त बनाई राख्न एकेडेमीलाई वार्षिक १५ लाख दिने गरी १० वर्षका लागि क्लव सँग सम्झौता गरेको हो । स्व.केसीको प्रथम वार्षिक पुण्य तिथीको अवसरमा एक कार्यक्रम गरी उक्त सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौता भए सँगै एकेडेमीको नामाकरण समेत “सूर्य बहादुर केसी स्मृती सहारा फुटबल एकेडेमी” राखिने क्लवद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सम्झौता आदान प्रदान गरिएको थियो ।
क्लवद्वारा आयोजित सम्झौता आदान प्रदान कार्यक्रममा वोल्दै केसीका छोरा तथा यूवा उद्योगपती प्रकाश केसीले सहारा संग आफ्ना वुवाको संस्थागत निकटता र सवैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको उन्नयनको लागि सम्झौता गरेको बताए ।
त्यस्तै स्व.केसीका माहिला छोरा किरण केसीले आफ्नो वुवाको नाम सहारा एकेडेमी सँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । भने रोशनले आफ्नो वुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जिवन्त बनाई राख्न सहारा एकेडेमी सँग जोडिएको उल्लेख गरे । उनले सो अवसरमा भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले २० औं संस्करणको आहा ! रारा गोल्ड माघको ६ देखि १६ गते सम्म हुने घोषणा समेत गर्दै सहारा एकेडेमीलाई स्व.केसीको परिवारले गरेको महत्वपूर्ण सहयोगका लागि आभार प्रकट गरे ।
स्मरणिय के छ भने सहारा एकेडेमीमा कठिन परिस्थिती र विपन्न वर्गका १४ जिल्लाका २४ बालकहरु आश्रित रहेका छन् ।
