
पोखरा,
लमजुङ जिल्लाको क्ब्होंलासोथर गाउँपालिका वडा नं ९ मा अवस्थित गिलुङमा पर्यटन महोत्सवमा परम्परागत ठेलो प्रतियोगिता हुने भएको छ ।
गिलुङ गाऊ, गिलुङ समाज पोखरा, गिलुङ समाज यूके, गिलुङ समाज हङकङ र क्ब्होंलासोथर गाउँपालिकाको संयुक्त आयोजनामा पर्यटन महोत्सव हुन लागेको हो ।
समाजका अध्यक्ष दुधमान गुरुङ (आशिष)ले नेपालकै शुन्दर गाउँ मध्यको गाउँमा पर्ने गिलुङमा आउदो कार्तिक २९ र ३० गते महोत्सव हुन लागेको जानकारी दिंदै महोत्सवमा परम्परागत ठेलो प्रतियोगिताको आयोजना हुने बताए ।
महोत्सव सफलपार्न स्थानिय मिलन युवा क्लबका अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा १०१ मुल आयोजक समिति गठन गरिएको छ । उनले मुल आयोजक समिति संगै विभिन्न उपसमिति गठन भएको जानकारी दिए ।
आर्थिक संकलन उपसमिति संयोजकमा पस बहादुर गुरुङ, अतिथि सत्कार उप–समिति संयोजकमा देवीसुब्बा गुरुङ, प्रचार प्रसार उप–समिति संयोजकमा लेख वहादुर गुरुङ, सांस्कृतिक उप समिति संयोजकमा चन्द्र प्रसाद गुरुङ र पोखराको संयोजकमा गिलुङ समाज पोखराका अध्यक्ष दुधमान गुरुङ (आशिष) रहेका छन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जन्म स्थल रहेको वडा समेत पर्ने गिलुङ गाउँ पर्यटनको लागि सम्भावना क्षेत्र भएको गाउँ रहेको समाजका उपाध्यक्ष सुवेदार हनेरी क्याप्टेन कुश प्रसाद गुरुङले बताए ।
पर्यटन महोत्सव मार्फत गिलुङको थप पर्यटनमा विकास पुग्ने स्थानीयको आयआर्जनमा वृद्धि हुने राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा गाउँको प्रचारप्रसार हुने साथै लोपन्मुख संस्कृतीको जर्गेनाका साथ महोत्सवको आयोजना गर्न लागिएको सोही वडाका वडाध्यक्ष नन्दजंग गुरुङको भनाई छ ।
महोत्सवले गुरुङ संस्कार, परम्परागत खेल, कला संस्कृति र परम्परालाई संरक्षण एवं सम्बद्र्धन गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएको समासेवी मुछेत्र गुरुङले जानकारी दिए । ‘गिलुङ बाट ३६० डिग्रीमा दृष्यावलोकन गर्न सकिन्छ सायद यस्तो ठाउँ नेपालमा कतै छैन’ गुरुङले भने–‘हिमाल सहित सबै फाँटहरु र पोखरा सम्म पनि देखिने हुनाले यो नेपालकै पर्यटकिय नमुना गाउँ बनाउन सकिन्छ ।’
महोत्सवका संयोजक सन्तोष गुरुङले पर्यटन महोत्सवमा ठेलो प्रतियोगिता साथमा विभिन्न लोपन्मुख सास्कृति कार्यक्रम र स्थानिय अर्गानिक खानाका परिकार पनि महोत्सवमा राखिने बताए ।
लम्जुङ जिल्लाको उत्तर पश्चिममा अवस्थित उत्तर तर्फ फर्केको क्ब्होंलासोथर गाउँपालिका वडानं ९ मा अवस्थित गिलुङ गाउँ नेपालकै सुन्दर गाउँ मध्ये एक रहेको र गिलुङ गाउँ समुद्र सतह बाट १ हजार ४ सय ५० मीटरको उचाईमा छ ।
गिलुङलाई गुरुङ भाषामा क्लीनु भनिन्छ । त्यहाँको हावापानी बाह्रै महिना चिसो रहन्छ । गुरुङ्हरुको बाहुल्यता रहेको यो गाउँमा अन्य जाति को पनि बसोबास छ । लगभग ४०० घरधुरी भएको यो गाउँ ठुलो र फराकिलो पनि छ ।
गिलुङ गाउँसम्म पुग्न बेशीशहर र पोखरा बाट यातायातको राम्रो सुबिधा समेत छ । पोखराबाट लगभग ५४ कि मी को दूरीमा अबस्थित रहेको गिलुङ पोखराबाट दैनिक तीन वटा यात्रु बस छुट्ने गर्छन । काठमाडौं बाट आउदा दमौली भएर भोर्लेटार हुदै यस गाउँमा पुग्न सकिन्छ । बेशीशहर मालिङ हुदै पनि गिलुङ गाउँ पुग्न सकिन्छ ।
