फुटसल लिगः लुम्बिनी रेलिगेसनमा, धरानका प्रशिक्षक सहित तिनजनालाई रेडकार्ड

पोखरा स्पोर्टस । राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ ।

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो । जितसंगै राइजिङको ८ खेलबाट १६ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीको समान खेलबाट ४ अंक मात्रै रहँदै रेलिगेसनमा परेको हो । राइजिङको जितमा कप्तान दोर्जे तामाङ, रिवोस मास्के, विकु तामाक,सुदिप गुरुङ, हेमन्त थापा मगर र मिलन राइले गोल गरे । लुम्बिनीका लागि कप्तान रेफी महर्जन, हेमन्त गुरुङ, रुपेन थापा र देवशिष शर्माले गोल गरे ।

शनिबार भएको दोस्रो खेलमा स्पोर्टस क्यासलले फुटसल ५ धरान विरुद्ध पुनरागमन जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । खेल सुरु भएको पहिलो मिनेटमै धरानले अग्रता लिएको थियो । धरानका किरण चौधरीले गोल गर्दै अग्रता दिलाए । १० औँ मिनेटमा क्यासलका सुरेन बुढा मगरले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिएपनि दोस्रो हाफमा पुनः धरानले अग्रता लियो । २४ औँ मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गर्दै धरानलाई अग्रता दिलाए । निकै दबाबमा परेको क्यासलका सुमित श्रेष्ठले ३७ औँ मिनेटमा बराबरी गोल फर्काए । क्यासलका कप्तान अञ्जन देवकोटाले ४० औँ मिनेटमा गोल गर्दै जित दिलाए । खेलको म्यान अफ दी म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए ।

धरानका प्रशिक्षक सहित तिनजनालाई रेडकार्ड
खेल सकिए लगत्तै केहीबेर विवाद समेत भयो । धरानका प्रशिक्षक तथा खेलाडीहरु रेफ्रीमाथि जाइलाग्न खोजेपछि रेफ्रीले प्रशिक्षक विश्वास लामा, म्यानेजर जिवन आले मगर र सुजन खड्कालाई रेडकार्ड दिए । यस अघि धरानका गोलरक्षक धिरज तामाङले रातो कार्ड पाएका थिए । यो लिगकै सबैभन्दा बढि रेडकार्ड देखाइएको खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close