
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्ना पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष स्वर्गिय.रुक्म शमशेर राणाको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरेको छ ।



राणाको निधन भएको १३ औं पूण्य तिथिका अवसरमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको गत भदौ २५ मा निधन भएको थियो । स्व.राणा सन् १९९८ देखि २००७ सम्म एनओसीको अध्यक्ष रहेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद, फुटबल, तेक्वान्दो, एथलेटिक्स र स्कि संघका नेतृत्व समेत सम्हालेका थिए ।
एनओसीमा आयोजित शोक सभा कार्यक्रममा एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली ओलम्पिक आन्दोलनमा राणाको ठूलो योगदान रहेको चर्चा गर्दै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्न ठूलो योगदान रहेको बताए । अध्यक्ष श्रेष्ठले भने–“‘नेपाली ओलम्पिक आन्दोलन यहाँ सम्म आइपुग्नुमा सबैभन्दा ठूलो योगदान राणाकै छ ।”
एनओसीका सल्लाहकार तथा पूर्व मन्त्री शरतसिंह भण्डारी राणा नेपाली खेलकुदको असल अभिवावक रहेको बताए । यस्तै कार्यक्रममा स्व. राणाको परिवारको तर्फबाट अनिलकेशरी शाहले नेपाली खेलकुद र खेलाडीप्रति राणाको असाध्यै माया रहेको बताए ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नेपाली तेक्वान्दोको विकासमा उनको अतुलनीय योगदान रहेको बताए । यस्तै एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले दिवंगत राणा नेपालमा विवादरहित खेलकुद चाहेको उल्लेख गर्दै भने–“नेपाली खेलकुद एकजुट भएर अगाडि बढ्छ भने त्यो नै राणाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।”
कार्यक्रमका अवसरमा स्व. राणाको परिवारका सदस्यहरु, एनओसीका प्रमुख पदाधिकारी, विभिन्न कमिटीका अध्यक्ष, खेल संघका अध्यक्षहरु र सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा स्व. राणाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
