
पोखरा स्पोर्टस । दक्षिण एशियाली खेलकुद (साग)को १४ औं संस्करण पाकिस्तानमा हुने पक्का भएको छ ।
दक्षिण एशियाली ओलम्पिक काउन्सिलको सोमबार सम्पन्न वैठकले सन २०२३ मार्चका लागि मिति तय गरेको हो । दुई वर्ष पछि हुने सागमा २७ खेलहरु आयोजना गर्ने बैठकले सैद्धान्तिक सहमती जनाएको छ । काउन्सिलको बैठकमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठले सहभागिता जनाएका थिए ।
१४ औं सागमा भारतको सहभागितालाई लिएर बैठकमा प्रश्न उठे पनि बैठकमा सहभागी रहेका भारतिय ओलम्पिकका महासचिवले भारतको सहभागितामा कुनै द्विविधा नरहेको स्पष्ट पारेका थिए । बैठकमा सहभागी एनओसीका महासचिव श्रेष्ठले भने–“भारतको सहभागिताका विषयमा बैठकमा प्रश्न उठेको थियो तर भारतले १४ औं सागमा आफ्नो सहभागिता हुने जनाएको मात्रै छैन सहभागितामा आफुहरु खुसी हुनैछौं भनेको छ ।”
पाकिस्तानले लाहोरलाई मुख्य खेल स्थलका रुपमा छनोट गरेको छ । यो संगै केही खेलहरु फैसलाबाद, इस्लामावाद, गुजरनवाल र सिलाकोटमा आयोजना हुनेछन । बैठकमा सवै दक्षिण एशियाली ओलम्पिक कमिटीका अध्यक्ष र महासचिवहरुको सहभागिता रहेको थियो ।
