मुख्यमन्त्री कप भलिवल : क्वाटरफाइनल खेलका समिकरण पुरा, शुक्रबार सेमीफाइनलहरु रोमाञ्चक हुने

पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल २०७७ अन्तर्गत क्वाटर फाइनलका समिकरण पुरा भए सँगै शुक्रवार सेमीफाइनलका खेलहरु रोमाञ्चक हुने आयोजकले जनाएको छ ।

कास्की जिल्ला भलिवल संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका समिकरण पुरा भए सँगै सेमीफाइनलमा प्रवेश गर्ने टिमको टुङ्गो लागेको हो । प्रतियोगिता आयोजक समितीका अध्यक्ष भिम पराजुलीका अनुसार शुक्रबार हुने महिलातर्फका दुई र पुरुषतर्फका दुई खेल गरी चार खेलबाट फाइनलमा पुग्ने टिमको निर्धारण हुनेछ ।

महिलातर्फ कुन–कुन टिम सेमीफाइनल भिड्दै ?
मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल २०७७ अन्तर्गत महिलातर्फ म्याग्दी, तनहुँ, पर्वत र कास्की सेमीफाइनलमा प्रवेश गरेका छन । भोली शुक्रबार हुने सेमीफाइनलमा म्याग्दीले तनहुँको सामना गर्नेछ । म्याग्दीको टिममा नेपाली महिला भलिवलकी टिमकी कप्तान अरुणा शाही र राष्ट्रिय टिमकी खेलाडी कमला पुन रहेकाछन ।

बिहिवार सम्पन्न खेलमा म्याग्दीले स्याङजा सँगको भिडन्तमा २–० को सोझो सेटमा स्याङजालाई पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । म्याग्दीले पहिलो सेट २५–०५ ले आफ्नो कव्जामा पारेपनि दोश्रो सेटमा भने २८–२६ ले संघर्षपूर्ण जित निकाल्यो ।

यसै गरी दोश्रो खेलमा पर्वतले कास्कीको सामाना गर्ने छ । लिगबाट सोझै सेमीफाइनलको यात्रा तय गरेको पर्वतले कास्की सँग कस्तो खेल्छ त्यो भने भोलीको खेलबाट दर्शकहरुले थाहा पाउने छन । बिहिबार भएको खेलमा कास्कीले बागलुङलाई ३–१ सेटले पाखा लगाएको थियो । प्रतिष्पर्धात्मक खेलमा कास्कीले पहिलो सेट १९–२५ ले गुमाएपनि लयमा फर्किदै पछिल्ला दुई सेट २५–२३ र २५–१८ ले आफ्नो पक्षमा पार्दै सेमीफाइनलको यात्रा तय गरेको हो । कास्कीको टिमा राष्ट्रिय टिमकी खेलाडी ममता डगौरा रहेकी छन ।

यता महिलातर्फको खेलमा तनहुँले हिमालापारीको जिल्ला मुस्ताङलाई २५–७ र २५–९ को सोझो सेटमा पराजित गर्दै म्याग्दी सँग सेमीफाइनलमा भिड्ने भएको छ ।

पुरुषतर्फको खेल रोमाञ्चक हुने, को–को प्रवेश गरे सेमीफाइनलमा ?
यता पुरुषतर्फको खेल भने रोमाञ्चकहुने आयोजकले जनाएको छ । पहिलो पटक आयोजना भएको मुख्यमन्त्रीकप प्रदेशस्तरिय भलिवलको सेमीफाइनलमा स्याङजा, पर्वत, म्याग्दी र तनहुँले सेमीफाइनलको यात्रा तय गरेपनी आयोजक कास्की म्याग्दी सँग सोझो सेटमा पराजित भएपछि अगाडीको यात्रा रोकिएको छ । म्याग्दीले कास्कीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलमा तनहुँसँग भेट पक्का गरेको छ । म्याग्दीले कास्कीलाई २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गरेको थियो ।

त्यसैगरी स्याङजाले प्रतिष्पर्धामा वलियो रहेको टिम बागलुङलाई २–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५–२० ले जितेको स्याङजाले दोश्रो सेटमा भने बागलुङ खेलमा फर्किने प्रयास गरे पनि त्यो सफल हुन सकेन । दोश्रो सेट स्याङजाले २७–२५ ले आफ्नो पक्षमा पार्दै सेमीफाइनलको यात्रा तय गर्यो ।

त्यस्तै तनहुँले नवलपुरलाई सोझो २–० को सेटमा हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २५–१५ ले जितेको तनहुँले दोश्रो सेट २५–२० ले जित्दै म्याग्दी सँग सेमीफाइनलमा आफ्नो भेट पक्का गरेको हो ।

प्रतियोगिता प्राविधिक समितीका संयोजक तथा एविसी भलिवल रेफ्री तहल सिंह थापा मगरका अनुसार शुक्रवार विहान ९ बजे शुरु हुने सेमीफाइनलका खेलहरु शुरु हुने भएका छन ।

प्रतियोगिताको उद्धेश्य र पुरस्कार राशी
गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने रहेको अध्यक्ष पराजुलीले बताएका छन । त्यस्तै भलिबल खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपनि प्रतियोगिताको उद्धेश्य रहेको उनको भनाई छ ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक खगेन्द्र गौचनले जानकारी दिएका छन ।

प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिएको छ ।  आयोजकले सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close